बुटवल–वातावरण संरक्षण एवं हरियाली प्रवद्र्धनमा बुटवल उपमहानगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले साथ दिएको छ।
बुटवलको कालिकानगरमा पर्ने सिक्सलेन सडकको बीचको मेडियन (मुख्य डिभाइडर) र लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) अगाडिको ट्राफिक आइल्याण्ड क्षेत्रलाई हरियालीयुक्त र आकर्षक बनाउने कार्यका लागि बैंक र उपमहानगरबीच सम्झौता भएको छ।
उपमहानगरपालिकाको डिजाइन अनुसार अनेकतामा एकरुपता ल्याउने गरी सिक्सलेनको तीनसय मिटर क्षेत्रको मेडियनमा फूल बिरुवा रोप्ने र सिंचाईका लागि पानी टंकि राखेर थोपा सिंचाई गरी हरियाली बनाउने सम्झौता भएको छ।
यस्तै बसपार्कको ट्राफिक आइलेण्डलाई रेलिङले सुरक्षित गरी व्यवस्थित र आकर्षक बनाउने सम्झौता पनि भएको छ।
हरियाली प्रवद्र्धन र ट्राफिक आइलेण्ड व्यवस्थित गर्न लाग्ने सम्झौता अवधिको खर्च बैंकले ब्यहोर्ने गर्ने गरी सम्झौता भएको हो।
सम्झौता पत्रमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले हस्ताक्षर गरेका छन्।
सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले शाइन रेसुङ्गा बैंकको सहकार्यले बुटवलको वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राखे। बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि उपमहानगरसंग सहकार्य गरेको बताए।
यसअघि बैंकले तिलोत्तमा नगरपालिकामा पनि हरियाली प्रवद्र्धन सिक्सलेन सडक किनारका पोलमा राख्न नगरपालिकालाई डस्टबिन दिएको थियो। यस्तै सैनामैना नगरपालिकालाई पनि डेढ सय थान डस्टबिन दिएको थियो।