काठमाडौं-सरकारले दशैंमा मन्दिरमा भिडभाड कम गर्न पुजारीहरुमात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ संक्रमणबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन उक्त आग्रह गरेका हुन्।
'यसपालीको दशैंमा मन्दिरहरुमा पुजारीहरु मात्र उपस्थित भइ नित्य पूजा गर्ने व्यवस्था मिलाउन सबै मन्दिर व्यवस्थापन समिती, गुठी, धार्मिक गुरु,स्थानीय सरकार, धार्मिक गुरुलाई आग्रह गरिन्छ।'
त्यस्तै उनले दशैंमा सार्वजनिक ठाउँमा पिङ पनि नहाल्न अनुरोध गरे। 'मन्दिरमा नित्य पुजा गरौं। सार्वजनिक ठाउँमा लिङ्गे र रोटे पिङ नहालौं, गौतमले भने।
त्यस्तै कोरोना संक्रमणको जोखिमबाट बच्न चाडपर्वको बेलामा सामान अनलाइनबाट खरिद गर्न पनि आग्रह गरे। दैनिक उपभोग्य सामान सकेसम्म एक हप्ताका लागि समाग्री किन्न उनको आग्रह छ।
त्यस्तै प्रवक्ता गौतमले व्यवसायीहरुलाई पसलहरु बिहान सबेरैदेखी बेलुका अबेरसम्म खुल्ला गर्नका लागि आग्रह गरे। यसले सेवाग्राहीलाई फरक फकर समयमा आएर सामाग्री खरिद गर्न सहयोग पुग्ने बताए।
त्यसैगरी सामान्य रुघाखोकी लागेर आत्तिएर अस्पताल पुग्दा जटिल अवस्था भएकाले उपचार नपाउने सम्भावना हुन सक्ने भएकाले ख्याल गर्न पनि अनुरोध गरे।
प्रवक्ता गौतमले सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग नगरे महामारी नियन्त्रण गर्न सम्भव नहुने उनको भनाइ छ।