नेपालगन्ज–बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुईजनाको मृत्यु भएको छ ।
यो सँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० राँझा निवासी ६० वर्षीय महिला र टीकापुर नगरपालिका वडा नंं १ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उहाँका अनुसार,स्वास प्रस्वासमा समस्या भएपछि कार्तिक ८ गते अस्पताल भर्ना हुुनभएका महिलामा परीक्षणको क्रममा कोरोना पुष्टि भएको थियो ।
सङ्क्रमित महिलालाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापी लगायत सबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसीयूमा उपचारकै क्रममा गएराती मृत्यु भएको हो । यो सँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ ।
यसैगरी स्वास्थ्यमा समस्या देखिएपछि कार्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि आउनुभएका कैलालीका ६० वर्षीय पुरुषमा कार्तिक १५ गते कोरोना पुष्टि भएको थियो ।
स्वास प्रस्वासमा समस्या भएका सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्नेसबै प्रकारको उपचार दिदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि शनिबार राती १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।