बुटवल–कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएको बुटवलमा स्वासप्रश्वासमा समस्या भएका संक्रमितहरू घरघरमै अक्सिजन सिलिण्डर पुराउने तयारी गरिएको छ ।
होम आइसोलेशनमा बस्नेहरुको संख्या बढ्दै गएको र होम आइसोलेशनमा बस्नेहरुमा जटिल समस्या देखिन थालेपछि बुटवल उपमहानगरपालिकाले आपतकालिन अवस्थामा घरसम्मै अक्सिजन ग्यास उपलब्ध गराउने तयारीमा थालेको हो ।
होम आइसोलेशनमा रहेकाहरुको स्वास्थ्यमा जटिल समस्या देखिने र कतिपयको मृत्यु हुन थालेपछि बुटवलले घरमै अक्सिजनको सिलिण्डर पु¥याएर बिरामीलाई स्वास्थ्यलाभका लागि सहयोग गर्ने तयारी थालेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।
अहिले होम आइसोलेशनमा रहेकाहरुको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योगा र आयुर्वेद ओखती वितरण, एम्बुलेन्स तम्तयारी अवस्थामा राखिएको छ ।
नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक ओखती पुर्याएको उपमहानगरले अहिले तिनै दीर्घरोगी र संक्रमितको अवस्थालाई मध्यनजर गर्दै अक्सिजनसहितको स्वास्थ्य सेवा पु¥याउने तयारी गरिरहेको उनले बताए ।
होम आइसोलेशनमा बसेकालाई तत्कालै अक्सिजन मात्रै भएपनि राहत हुने र उपचार प्रभावकारी हुने अवस्था भएका ठाउँमा आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलव्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाउने तयारी सुरु गरिएको र प्राविधिकहरुसंग छलफल भइरहेको प्रमुख सुवेदीले बताए ।
यसका लागि उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन ग्यास उत्पादकसँग छलफल गर्न प्रमुख सुवेदीले निर्देशन दिइसकेका छन् ।
ग्यास उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक अध्ययनसँगै प्रक्रिया अगाडि बढाइएको प्रमुख सुवेदीले बताए ।
बुटवल उपमहानगरका सहरी स्वास्थ्य प्रर्बद्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुको सेवाप्रवाहलाई अझ व्यवस्थित गराउँदै जस्ता स्वास्थ्य संस्थाहरु मार्फत वडा तहको सहकार्यमा संक्रमितको नियमित स्वास्थ्य निगरानी सुरु गरिएको छ । यसका लागि उपमहानगरले वडातहमै तत्काल रेस्पोन्स टिम बनाउने तयारी गरेको छ ।
प्रमुख सुवेदीले जनस्वास्थ्यको क्षेत्रमा उपमहानगर जिम्मेवार रहँदै आएको बताउँदै उपलव्ध रहेका साधन स्रोतको अभावमा कसैको पनि अकालमा ज्यान नजाओस् भनेर थप संवेदनशिल बनेको बताए ।
उपमहानगरका कर्मचारीको कोरोना संक्रमणबाट निधन भएको र उनले समयमा आइसीयूसहितको बेड नपाएको घटनापछि उपमहानगरमा जनप्रतिनिधिले थप तदारुकता देखाएका छन् । वरिष्ठ कर्मचारीले जनस्वास्थ्यका साथै कर्मचारीको स्वास्थ्य सुरक्षाको सवालमा विशेष योजना बनाउन प्रमुखलाई भेटेरै आग्रह गरेका थिए ।
यो संगै प्रमुखले प्राविधिकको सहकार्यमा उपमहानगरका उपलव्ध साधन स्रोतको अध्यय्न गर्दै अक्सिजनसहितको एम्बुलेन्सको तम्तयारीका सथै अक्सिजनसहितका आइसोलेशन सेन्टर विस्तार गर्न निर्देशन दिएका थिए ।
लगत्तै कार्यपालिका बैठक नै बसेर उपमहानगरले प्रदेश सरकारसमक्ष आइसीयू र भेन्टिलेटरसहितका बेड विस्तारका लागि आग्रह गरेको थियो भने त्यसका लागि सहकार्य गर्न तयार रहेको बताएको थियो ।