भैरहवा–‘झिलिमिली बत्ती’को पर्व भनेर चिनिने तिहार नजिकिदै गर्दा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भने पर्वलाई लक्षित गर्दै अनावश्यक लाइटिङ (बत्ती) बन्द गर्ने गराउने निर्णय गरेको छ।
नगर प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा सोमबार बसेको बैठकले नजिकिदै गरेको नेपालीहरुको महान चाड दिपावली, छठ पर्व र नेपाल संवत २०७७ लाई मध्यनजर गर्दै सो निर्णय गरेको हो।
लक्ष्मीको बास सधैभरि हुन्छ भन्ने विश्वासका साथ तिहारमा सबैले भएसम्म झिलिमिली बत्ती बाल्ने गर्छन्।
परम्परागत रुपमा बाल्दै आएको दियो, मैनबत्तीलाई विस्तारै विद्युत्तीय बत्तीले प्रतिस्थापन गरिरहेको बेला नगररपालिकाले सुरक्षा, दुर्घटना र कोभिड जोखिमको कारण अनावश्यक रुपमा बालिदै आएको लाइटिङ बन्द गर्ने गराउने निर्णय भएको बैठकमा सहभागी सिद्धार्थनगर वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले बताए।
पर्वलाई लक्षित गर्दै बसेको नगरपालिकाको बैठकले हाल कोभिड–१९ संक्रमणको जोखिम कायम रहेकोले पर्वलाई नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सुरक्षित तवरले मनाउन नगरवासीलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
नगरपालिका क्षेत्रभित्र चाडपर्वको समयमा देउसीभैलो लगायतका कुनैपनि किसिमका सांस्कृतिक कार्यक्रमहरु, सार्वजनिक ठाउँमा डिजे, संगीतिक कार्यक्रम र मानिसहरुको भिडभाड हुने कार्यक्रमहरु नगर्ने नगराउने निर्णय गरेको छ।
सकेसम्म आवतजावत कम गरी जो जहाँ छौ त्यहीँ बसेर पर्व मनाउने, जुवा तास जस्ता सामाजिक विकृतिजन्य क्रियाकलाप पूर्णतः रोक लगाउने, पटाका लगायतका विष्फोटक पदार्थ खरिद, बिक्री र प्रयोगमा पूर्णत रोक लगाउने, होटल रेष्टुरेन्ट र बारहरु राती ९ बजे पछि बन्द गर्ने, फुटपाथमा स्टल तथा सार्वजनिक स्थानमा मूर्ति स्थापना नगर्ने निर्णय भएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।
विद्युत पर्याप्त छ: भैरहवा वितरण केन्द्र
नगरपालिकाले लाइटिङ बत्ती बन्द गर्ने गराउने निर्णय गरेपनि नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि तिहारमा निर्धक्क विद्युत् खपत गर्न सकिने बताएको छ।
यस वर्ष ‘भैरहवा क्षेत्रको ग्राहक विद्युत खपत २० प्रतिशत कम छ, २ वटा औद्योगिक फिडरबाट अनवरत रुपमा भैरहवा लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा ४२ मेघावाट र भैरहवा ग्राहस्थ क्षेत्रका लागि १० मेघावाट गरी ५२ मेघावाट विद्युत आपूर्ति भइरहेको छ।
होटल, उद्योग, ठूला व्यापारिक भवन र मलहरूमा समेत विद्युत खपत कम भएकोले तिहारमा बत्ती बाल्न विधुतको समस्या आउदैन पर्याप्त छ’– नेपाल विद्युत्त प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र कुमार झाले भने।
‘तिहारमा बढी विद्युत खपत हुने मुख्य दिन भनेको लक्ष्मी पूजाको दिन हो। त्यो दिन उद्योगहरु पनि खपत कम हुने हुँदा औद्योगिक लाइनलाई ग्राहकतिर डाइभर्ट गर्न सकिन्छ, विद्युतको कमी छैन पर्याप्त बिजुली आपूर्ति भइरहेकोले २४ सै घन्टा निर्धक्क भएर विद्युत् प्रयोग गर्न, तिहारमा बत्ती बाल्न सकिन्छ’–वितरण केन्द्रका प्रमुख झाले लुम्बिनी टाइम्ससँग भने।