बुटवल–तराईबाट उत्तरतर्फ फर्कदा चुरे पर्वतका श्रृंखलाहरु रहेका छन्। हरियाली देखिनुपर्ने यी चुरेपहाडमा यतिखेर छियाछिया परेका प्रशस्त धर्साहरु देखिएका छन्।
वर्षा हुँदा ठूलाठूला पहिरो गएका कारण चुरेको दृश्य हरियो देखिदैन। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अनुसार अहिले धेरैतिर चुरेमा पहिरो गएको छ।
समितिका कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका सहायक भूसंरक्षण अधिकृत विमल राउतले धेरै वर्षको अन्तरालमा यो वर्ष चुरेले धेरै क्षति भोगेको बताए।
‘हामीसँग आधिकारिक तथ्यांक त छैन, हामीहरुले सरसर्ती हेर्दा र स्थानीयहरुसँग कुरा गर्दा चुरेमा २० वर्ष यताकै बढी क्षति भएको हो कि जस्तो लाग्छ’–उनले भने –‘पूर्वदेखि पश्चिमसम्म जताततै क्षति भएको छ।’
यो वर्ष निकै धेरै वर्षा भएको थियो, असार साउनमा मात्र होइन, असोजसम्म लगातारजसो पानी परेर धन जनको क्षति पुर्याएको थियो, अत्याधिक वर्षा भएकाले चुरेमा थुप्रै पहिरो गएको सहायक भूसंरक्षण अधिकृत राउतले बताए।
‘यसपटक पानी धेरै पर्यो, पानी परेर जम्मा भएर एक ठाउँबाट बग्नुपर्नेमा माटो सहित नै बग्यो’–उनले भने–‘गतवर्ष भन्दा यस पटक पहिरोले समस्या पर्यो भनेर आउने क्रममा निकै वृद्धि भएको छ।’
चुरे क्षेत्रमा गएको पहिरोका कारण वनजंगल भित्र नभई चुरे नजिकको बस्तीमा पनि परेको छ। बुटवलको लक्ष्मीनगर, आदर्शनगरमा माथि गएको पहिरोका कारण केही बस्ती जोखिममा परेका छन्। उनीहरुले बस्ती जोगाउन माग पनि गरेका छन्।
गत असोजमा वर्षा पछि आएको पहिरोका कारण केही घरमा क्षति पुर्याएको थियो। अहिले पनि ती ठाउँ जोखिम नै रहेको बुटवल ४ का वडाध्यक्ष टंकप्रसाद पराजुलीले बताए।
‘अहिले पनि ती ठाउँ खतरामुक्त छैनन्। त्यहाँको बस्तीलाई सार्ने कि तटबन्ध गरेर सुरक्षा दिने भन्ने कुरा भएको छ’–उनले भने।
यस्तै अन्य कतिपय बस्ती चुरेमा गएको पहिरोमा पनि असुरक्षित बनेका छन्। राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समितिले त्यस्ता बस्तीहरुको संरक्षणमा काम गरिरहेको जनाएको छ।
‘घरबस्तीहरु बगाउन थालेको छ भने जाली लगाउने बिरुवाहरु रोप्छौं’–समितिका कार्यक्रम कार्यान्वयन इकाइ बुटवलका सहायक भूसंरक्षण अधिकृत विमल राउतले भने ‘अमृसोका साथै स्थानिय स्तरमा हुने विरुवाहरु रोपेर संरक्षणको काम गर्दर्छौ । त्यसका साथसाथै जनचेतनाका कामहरु पनि गछौं।’
चुरे पहाडलाई कान्छो पहाड भनेर चिनिन्छ। यहाँको माटो गेग्रेटो भएकाले भौगोलिक बनावट पनि निकै कमजोर हुने गर्दछ।
कमजोर धरातल र भिरालोपना धेरै भएकाले चुरेमा पहिरोको जोखिम बढी हुने गरेको सहायक भूसंरक्षण अधिकृत राउतले बताए। ‘कमजोर बनोट, बढी भिरालोपना धेरै भएपछि सानो पानी परेपनि पहिरो खसिहाल्ने अवस्था हुन्छ। त्यस बाहेक मानविय कारण पनि छ।’–उनले भने–‘अवैज्ञानिक तरिकाले ढुंगा गिटी बालुवा निकाल्दा पनि चुरेको क्षति हुने गरेको छ।’
यस बाहेक सडकका लागि ट्रयाक खोलेको ठाउँहरुमा पनि पहिरो धेरै जाने र चुरे क्षेत्र जोखिममा परेको छ।
चुरे क्षयीकरण हुँदा त्यसको असर तराइ क्षेत्रमा पनि पर्ने गर्दछ। चुरेका माटो गिटी तराइमा थुप्रिदा तराइमा बाढी पहिरो र डुवानको समस्या पर्दछ।