काठमाडौं– गृह मन्त्रालयले ३३ जना एसएसपीहरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले निकालेको सूचिअनुसार महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुखको जिम्मेवारी एसएसपी अशोक सिंहले पाएका छन्।
सात महिनामै काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली सरुवा भएका छन्। त्यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी किरण बज्राचार्यको सरुवा भएको छ । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई कार्य विभाग कार्य महाशाखा नक्सालमा सरुवा गरिएको छ।
त्यसैगरी महानगरीय ट्राफिक प्रहरी प्रमुख भीम ढकालको पनि सरुवा भएको छ। ढकालको सामुदायिक प्रहरी महाशाखा नक्सालमा सरुवा भएको हो। ट्राफिक प्रमुखको जिम्मेवारी जनक भट्टराईले पाएका छन्।
बागमती प्रदेश प्रहरी कार्यालयबाट सुदिप गिरीको सिआइबीमा सरुवा भएको छ । सिआइबीका रामदत्त जोशीको भने लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलमा सरुवा भएको छ।
प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका एसएसपी कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा सरुवा भएको छ । जर्गाहाका एसएसपी वसन्तबहादुर कुवँरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको छ।