काठमाडौं । भक्तपुरबाट कालिन्चोक रिजर्भ गएर फर्किँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । बा ४ ख ४४६८ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार घाइतेको संख्या एकिन नभए पनि ३४ सिटको बस भएकाले कम्तिमा त्यतिनै संख्यामा यात्रु रहेको अनुमान गरिएको छ ।
बस बिहान सवा ८ बजेतिर दुर्घटनामा परेको थियो । बस सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा दुर्घटनामा परेको थियो । दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस लामोसाँघु– जिरी सडकखण्डमा दुर्घटनामा परेको हो । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८ जना महिला, तीनजना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव प्राप्त भएको प्रहरीले जनाएको छ ।
१८ जना घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।