टिस्टुङ - तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाडौँसम्म गाडी बोकेर भित्र्याउनेमध्ये हिराबहादुर घलानको गए राति निधन भएको छ । मकवानपुर, थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय जिउँदो इतिहास घलानको गएर गए राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।
दुई वर्षअघि थाहा–५ कै जुक्तबहादुर वाइबाकोे निधनपछि घलान मात्र राणा शासकका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुनुहुन्थ्यो । वडाकै सबैभन्दा ज्येष्ठ घलानको निधनले आफू अत्यन्त दुःखी भएको थाहा–५ का वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताउनुभयो ।
जीवनभर २५ गाडी बोक्नु भएका घलानले विसं २००६ देखि नै गाडी बोक्न शुरु गर्नुभएको थियो । उहाँले ९६ जनाले बोक्ने गाडी एक पटक मात्रै बोक्नुभएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटक जति बोक्नुभएको थियो। राणाकालमा भीमफेदीबाट काठमाडौँका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेललगायत क्षेत्रका बासिन्दा भरिया हुन जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ भरियाले राणाकालीन गाडी बोकेका थिए ।
आफ्ना बुबाले राणाहरुको गाडी बोकेको र लाठे भएपछि आफू पनि त्यही काममा लागेको घलानले सुनाउनुभएको थियो । एक वर्षदेखि पक्षाघातले थलिनुभएका उहाँ घरमै बसेर आराम गरिरहनुभएको थियो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ । रासस