बाँके- बालविवाहरहित समाजको विकास गरी सभ्य र समृद्ध जिल्ला निर्माणमा बाँकेका स्थानीय तह सक्रिय भएका छन्। किशोरी क्लबसँगको सहकार्यमा यहाँका स्थानीय तहले बालविवाहरहित समाजको निर्माणमा सक्रियता देखाएका हुन्। खजुराको लगनशील किशोरी क्लबमा आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले जिल्ला परिषद्ले बालविवाहमुक्त जिल्ला घोषणा गर्ने प्रस्ताव पारित गरिसकेको जानकारी दिए।
उनले अशिक्षाका कारण बालविवाह नघटेको जिकिर गर्दै बालिका शिक्षाका लागि जिससले जिल्लाका पाँचवटा स्थानीय तहमा छात्रा मात्र पढ्ने विद्यालयका लागि सहयोग गर्न लागेको जानकारी दिए। त्यसैगरी खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले बालविवाह न्यूनीकरण गर्दै बालविवाहमुक्त घोषणाबारे स्थानीय तहको तयारीबारे जानकारी गराए।
खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकाको वडा नं १, २, ३ र ४ लाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारी भइरहेको बताए। उनले अन्य वडामा भने बालविवाहबारे सचेतनामूलक कार्यक्रमको खाँचो रहेको बताउँदै बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबले योजना ल्याएमा बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाए।
नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले नगरका सबै वडामा किशोरी क्लब गठन गर्ने र क्लबको संस्थागत विकास गरी बालविवाहमुक्त वडा घोषणा गरिने बताउइन्। बाँकेलाई बालविवाहमुक्त गर्न प्लान इन्टरनेशनल नेपालले जिल्लाका आठवटै स्थानीय तहसँगको सहकार्यमा स्याक नेपाललाई बालविवाह रोकथाम परियोजना सञ्चालन गर्न सहयोग गरेको छ।
सो परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वडालाई बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको बताइएको छ। प्लानको कर्णाली प्रदेश क्षेत्रीय प्रबन्धक मीना पराजुलीले बालविवाह न्यूनीकरणका लागि किशोरी क्लबलाई प्रभावकारी योजना बनाएर ल्याउन आग्रह गरिन्।
लगनशील किशोरी क्लबको अध्यक्ष मञ्जु थापा मगर र कोषाध्यक्ष चेतना क्षेत्रीले बालविवाह न्यूनीकरणका लागि क्लबका पदाधिकारीको क्षमता अभिवृद्धि सम्बन्धी तालीम प्रदान गरिएको जानकारी दिए। परियोजनाले आगामी ६ महिनाभित्र जिल्लाका कम्तीमा पनि २० वटा वडा बालविवाहमुक्त घोषणा गर्ने तयारी गरेको छ। रासस