बुटवल-बुटवल उपमहानगरपालिकाको नगर सभाको आठौं अधिवेशन सुरु भएको छ ।
नगर सभा हलमा शुक्रबारदेखि सुरु भएको बैठकको शुभारम्भ गराउँदै नगरप्रमुख तथा नगरसभाका सभाध्यक्ष शिवराज सुवेदीले सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पार्नेगरि उपमहानगर केन्द्रित रहेको बताए।
बैठक प्रारम्भ गराउने क्रममा सभाअध्यक्ष तथा उपमहानगरका प्रमुख सुवेदीले राष्ट्रिय राजनीतिमा आउने उतारचढाव, संघीय संसदका घटनाक्रमले स्थानीय पालिकाको कार्यसञ्चालनमा कुनै पनि प्रकारको प्रभाव नपर्ने स्पष्ट पार्दै समृद्ध बुटवल खुशी बुटवलबासीको संकल्प साकार पार्न सबै नगरसभाका सदस्यहरु एकताबद्ध रहेको बताए।
नगरसभाको आठौं अधिवेशनको शुक्रबारको बैठकमा अनुगमन समिति संयोजक तथा उपप्रमुख गुमादेवी आचार्यले विभिन्न विषयका कार्यसूचि प्रस्तुत गरेकी छिन्। उनले अनुगमन तथा मूल्यांकन गर्ने सम्बन्धी ऐन,२०७५ मा संसोधन प्रस्ताव टेवुल गरिन्।
यस्तै पूर्वाधार विकास समितिका संयोजक तथा उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समिति मार्फत सञ्चालन हुने आयोजनाहरुका लागि पाँच प्रतिशत धरौटी राख्ने व्यवस्था हटाउने सम्बन्धी प्रस्ताव टेबूल गरे ।
शुक्रबारकै बैठकमा आर्थिक विकास समितिका संयोजक तथा नगर सभाका सभासद् टंक पराजुलीले बुटवल उपमहानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७७ को प्रस्ताव पेश गरे।
नगरसभामा लेखा समितिका संयोजक तथा नगरसभाका सभासद् कृष्णप्रसाद भुसालले महालेखा परीक्षकबाट प्राप्त अन्तिम लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे ।
सामाजिक विकास समितिका संयोजक तथा नगरसभाका सदस्य सीता थापा आचार्यले बालबालिकाको अधिकार व्यवस्थित गर्ने ऐन २०७५, मा संशोधन प्रस्ताव नगरसभाको बैठकमा पेश गरिन् ।
नगरसभाका सदस्य तथा उपमहानगरको सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक महेन्द्रप्रसाद लिगले नगरको स्वास्थ्य संरचनाको दरबन्दी तथा अन्य दरबन्दी प्रस्ताव टेबूल गरे ।
शुक्रबारको बैठकमा टेबुल भएका विभिन्न सातवटा प्रस्तावहरुमा नगरसभाका सदस्यहरुले राय सुझावसहित आफ्ना भनाइ राख्नेगरि समय तालिका र सचिवालय व्यवस्थापन गरिएको छ । नगरसभाको आठौं अधिवेशनको अर्को बैठक शनिबार बस्ने कार्यक्रम छ ।