पोखरा- कलाकार मिलन शेरचनले नयाँपुस्तालाई शालिग्रामको महत्व चिनाउनका लागि कलात्मक रूपबाट कृत्रिम शालिग्राम तयार गरेकी छन्। जापानी भाषा हानानो ओशिबाना अर्थात् झारपातबाट विभिन्न चित्राकृति बनाउँदै आएकी शेरचनले पछिल्लो समय शालिग्राम महत्वलाई कलामा उतारेकी हुन्। हिन्दू धर्म परम्परामा शालिग्रामको निकै महत्व छ, तर नयाँपुस्ता यसबारे निकै अनभिज्ञ छन्।
कलाको माध्यमबाट शालिग्रामको महत्व बुझाउन सकिन्छ कि भनेर यो तयार गरेकी हुँ”, शेरचनले भनिन्। उनले कलाको माध्यमबाट विभिन्न रङरोगन र केमिकलको सहायताले विभिन्न साइजको शालिग्राम तयार गरेको बताइन्। “कलाले कुनै पनि समाजको धर्म संस्कार र संस्कृतिलाई उजागार गरेको हुन्छ, मैले पनि हिन्दू धर्ममा निकै महत्व राख्ने धार्मिक महत्व बोकेका शालिग्रामलाई कलामार्फत उजागार गर्न खोजेकी हुँ”, शेरचनले भनिन्, “शालिग्राम लोप हुँदै गएको छ, यसको महत्व र महिमाबारे आउने पुस्तालाई जानकारी दिन सकिएन भने यो यसै हराएर जानेछ।
धर्म संस्कार, संस्कृति हराउनु भनेको आफ्नो पहिचान हराउनु हो।” शेरचनले आफ्नो भूगोल, परिवेश रहनसहन संस्कृति, धर्म संस्कारका राम्रा कुरालाई संरक्षण र प्रवद्र्धन गर्नु कलाकारको उत्तरदायित्व भएको बताइन्। हिन्दू धर्मशास्त्रमा शालिग्राम धार्मिक र आध्यात्मिक गुण रहने भएकाले विशेष खालको शिलाको रूपमा लिइन्छ।
यो मुक्तिनाथ क्षेत्रअन्तर्गत कालिगण्डकीमा पाइने विशेष खालको शिला हो। पौराणिक धर्मग्रन्थमा उल्लेख भएअनुसार कुनै समय देवता र राक्षसबीच समुद्र मन्थन हुँदा समुद्रमा १४ रत्न प्राप्त भएका थिए, तीमध्ये एक शालिग्राम गङ्गाजीमा पाइने विशेष रत्न हो। शालिकग्राम स्पर्श गरेर वा बगेको जल नियमित सेवनले पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। सनातन वैदिक हिन्दू धर्मावलम्बीले शालिग्राम घरमा राखेर पूजा गर्दै आएको पाइन्छ।
जापानी कला ‘हानानो ओशिबाना’ अर्थात् झारपातबाट कलात्मक चित्र बनाउने कलाकारका रूपमा परिचित शेरचनले धर्म, संस्कृतिका विभिन्न पक्षलाई कलामा उतार्दै आएकी छन्। उनका कलाले दर्जन बढी सम्मान तथा पुरस्कारसमेत पाइसकेको छ। पछिल्लो समय शेरचनले तयार गरेको लिपुलेकको कलाकृतिले राष्ट्रिय ललितकला पुरस्कारसमेत प्राप्त गर्न सफल भएको थियो। रासस