काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
मुलुकको पश्चिमी क्षेत्रबाट निम्न चापीय प्रणाली प्रवेश गरेकाले मौसम बदली हुने पूर्वानुमान गरिएको हो ।
सोमबार अपराह्नदेखि पश्चिम नेपालमा प्रवेश गरेको पश्चिमी निम्न चापीय वायु प्रणाली शुक्रबारसम्म नेपालमा नै सक्रिय रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार पूर्वी नेपालबाट वायु बाहिरिने अनुमान गरिएको छ । देशैभरिको मौसम प्रभावित हुने भएकाले न्यानो कपडा लगाउन र चिसोबाट बच्न महाशाखाले आह्वान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी निम्न चापीय वायुको प्रणाली सोमबार दिउँसोबाट सुदूरपश्चिमबाट नेपाल प्रवेश गरेकाले दिपायल, डडेल्धुरा, धनगढी र वीरेन्द्रनगरमा छिटपुट वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
‘पश्चिमी निम्न चापीय प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ,’ मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ, ‘यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानमा बदली रही उच्च हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपात तथा पहाडी र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
महाशाखाका अनुसार यो प्रणाली शुक्रबारसम्म नै रहनेछ । बिहीबार र शुक्रबार देशभर सामान्य बदली रही उच्च हिमाली भूभागमा हिमपात हुन सक्ने तथा केही स्थानमा वर्षा हुने भएकाले सतर्क रहन महशाखाले अनुरोध गरेको छ ।
शनिबारबाट भने मौसममा सुधार देखिनेछ । मनसुनी वर्षापछि भएको यस प्रकारको वर्षालाई हिउँदे वर्षाका रूपमा लिइन्छ । हिउँदे वर्षाले कृषिमा सहयोग पु¥याउन कृषकको भनाइ छ । विगतमा कम वर्षा हुने र यस वर्ष हिउँद लागेपछि मात्रै तेस्रोपटक पश्चिमी वायु प्रणाली सक्रिय भएको हो ।