बाँके-बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार ७० वर्षीय पुरुषको गएराति होम आइसोलेसनमा र धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
गत पुस २८ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका ४९ वर्षीय पुरुष सोमबार बिहान अचानक बेहोस भएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका ७० वर्षीय पुरुष गत पुस २६ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए ।