सर्लाही-भारतसँग खुल्ला सिमाना रहेका तराईका जिल्लाहरुको सीमानाका लामो समयदेखि नखुल्दा स्थानीयवासी चोरबाटो तथा पुलमुनिको र खोलाको बाटो प्रयोग गर्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी सरकारले गत चैत ११ बाट देशव्यापी लकडाउनको घोषणा गरे सँगै सिमा नाका बन्द गरिएको थियो। सीमा नाका लामो समयसम्म पनि नखुल्दा जिल्लाका स्थानीयवासी किनमेल लगायत आफन्तलाई भेट्न जाँदासमेत पुलमुनि, खोलाको बाटो तथा चोरबाटो प्रयोग गर्न बाध्य भएका छन् ।
व्यवहारमा भने सीमा खुला नै छ । पुलमुनि र आसपासबाट नदी तरेर आवतजावत भने रोकिएको छैन । पहिलाका सञ्चालित पुल सडकका नामको मात्र सीमा नाका बन्द गरिदा स्थानीयवासी मारमा परका छन । जिल्लाको ब्रह्मपुरीमा रहेको झिम नदीमा रहेको पुल बन्द भए पनि सर्वसाधारण पुलमुनिको खोलाबाट आवतजावत गर्न गर्दछन् ।
सर्वसाधारणलाई खोला, चोरबाटो र पुलमुनिबाट आवतजावत गर्दा सुरक्षाकर्मीको त्रास उत्तिकै रहेको छ । दैनिक उपभोग्य वस्तु, कपडालगायत सामान भारतीय बजार सुनवर्षा बाट चोर बाटो हुदै नेपालतर्फ आउने गरेको छ । साँझ र बिहान साइकल, मोटरसाइकल तथा ठूलाठूला पोका बनाएर टाउकोमा बोकेर व्यापारीको सामान तस्करी गर्नेहरू सर्लाहीका विभिन्न बजारसम्म पुग्ने गरेका छन् ।
प्रदेश २ का आठवटै जिल्ला भारतीय सीमासँग जोडिएका छन । नाका खुलाउन सर्लाहीसहित प्रदेश २ का जिल्ला प्रशासन कार्यालयमा विज्ञापनपत्र बुझाउदै स्थानीयवासीले सीमामै धर्नासमेत दिएका थिए । सीमा बन्द हुँदा दैनिक उपभोग्य सामानको मूल्य बढ्नाका साथै औषधि उपचारमा पनि समस्या भएको नेपाल–भारत खुल्ला सीमा संवाद समूहमा रहनुभएका जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।
सीमा बन्दकै कारण छोरी, चेली माइती र ससुराली आवतजावत गर्दा अपमानित भएको र वारिपारि आफन्तको जन्ती र मलामी जान पनि समस्या भइरहेको उनकोे भनाइ छ । सीमा बन्दले दैनिक जनजीवन सँगै जिल्लामा व्यापार व्यवसायसमेत प्रभावित भएको उद्योग बाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले बताए । चौसट्ठी किलोमिटर खुल्ला सिमाना रहेको सर्लाहीमा अधिकांश स्थानमा खेतको बाटोमा समेत प्रयोग बढेको छ । सिमानामा दुवै देशका सुरक्षाकर्मीहरु तैनाथ रहेका छन् । दैनिक उपभोग्य सामग्री खरीदका लागि तराईका जिल्लाका स्थानीयवासी भारतीय बजारमा जाने गर्दछन ।
सीमा नाका बन्दका बहानामा नेपाली बजारमा दैनिक उपभोग्य सामग्रीको मूल्यमा पनि वृद्धि भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् । सीमा नाका बन्दका बहानामा तराईका जिल्लामा चोरी तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको छ।रासस