अर्घाखाँची– अर्घाखाँची जिल्लाका स्थानिय सरकारले खरको छाना हटाएर गरिब जनताका घरमा जस्तापाता लगाईदिने योजना गाउँ तथा नगरको बजेटबाट रकम विनियोजन गरी प्रारम्भ गरे ।
निर्वाचन भएको सुरुको वर्षमै छत्रदेव गाउँपालिकाले जस्तापाता लगाउने कामको प्रारम्भ गरेको थियो । जिल्लाको पाणिनी गाउँपालिकाले विगतका दुई वर्षमा खानेपानी र मोटरबाटालाई प्राथमिकता दिएको थियो ।
चालु आर्थिक वर्षमा पनि एकघर एक धारा अभियानलाई प्राथमिकतामा राख्दै जस्तापाता लगाउँनका लागी एक करोड रुपैया विनियोजन गरेको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।
पाणिनी गाउँपालिकामा खरका छाना भएका घरधुरी करिब ९५० छन्, गौतमले भने, –‘जस्तापाता खरिद पछि घरधुरी छनोट गर्नका लागी योजना बनाउँछौँ, अहिले करिब २५० घरधुरीलाई जस्तापाता लगाईदिन्छौँ । अन्य घरधुरीमा आगामी वर्ष थप बजेट विनियोजन गरी रहेका घरमा जस्तापाताले सबैको घर चम्काईदिन्छौ ।’
निर्वाचनको समय असार महिनाको समय । पैदल हिडँदै गरीवका घरघरमा पुगेर भोट माग्दा टिन लगाईदिने भन्दै भोट मागे जनप्रतिनिधीले । असार महिनाको समय झमझम पानी परीरहेको, घर चुहिएर बस्नै नसक्ने, मर्मत गर्न पैसा नहुने ।
‘घर चुहिँएको थियो, प्लाष्टीक लगाएर बसेकी छु, पाचँ भाई छोरा हुन्, कसैले हेरेनन् भोट माग्न आउँदा आमा टिनको छानो मैले लगाईदिन्छु, भोट दिनुस भन्दथे जनप्रतिनिधी, वर्ष दिन पुरा नहुदैँ टिन लगाईदिए, म निकै खुसी छु–छत्रदेव केरुगांकी रुपकला खनालले भनिन ।
‘जति वर्ष बाँचेपनि स्थानीय तहले टिन दियो, न्यानो घरमा बस्न पाए । सन्तान नभएका हैनन् बुढाबुढी भएपछी हेला गरे, वास्ता गरेनन्, –आखाँ भरी आँसु निकाल्दै खनालले भनिन्, घरमा छानो नै थिएन, गाउँपालिकाले टिन दियो, लगाउन इष्टमित्र छिमेकीको साथ पाएँ ।’
मौवापोखरी निवासी ५४ वर्षीय टाम्के कामी एक वर्षअघि छत्रदेव गाउँपालिकाले टिन दिएपछि जस्तापाताले छाएको घरमा बस्न पाउँदा मख्ख छन् । ऋण तिर्न नसक्दा साहुले जस्तापाता लगेको दिन सम्झँदै उनी भन्छन,–‘गरिब र दीनःदुखीका पनि दिन आउँदा रहेछन्। मेरा लागि बल्ल सरखार (सरकार) आयो । अब जस्तापाता कसले ओखल्न सक्छ ?’
दुई वर्षअघि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका–३ उनले स्थानीय साहुको पसलबाट उधारोमा लगी घरमा टिन लगाए । दिनहुँ मजदुरी गरेर खाने टाम्केले घरमा लगाएको टिनको पैसा समयमै तिर्न नसक्दा ६ महिनापछि साहुले घरमा लगाएको टिन नै उखलेर लगे। त्यसपछि उनी पहिलेजस्तै सल्ली पराल र खरले घर छाएर बसेका थिए । छत्रदेव–२ बल्कोटकी विष्णुमाया नेपालीले घरमा टिन लगाउने कुरा सोचेकी पनि थिइनन् । तर, अहिले गाउँपालिकाले बोलाएर टिन दिएपछि उनी असाध्यै खुसी छन् । ‘२० वर्षदेखि एउटा घडेरी किनेर खरको छानोमा बस्दै आएका थियौं। श्रीमान् रोगी हुनुहुन्छ, केही काम गर्न सक्नुहुन्न’, मायाले भनिन, ‘खरले छाएको घर पानी आउँदा चुहिन्थ्यो।’
रुपकला खनाल, टाम्के कामी र विष्णुमाया नेपाली मात्र हैन, छत्रदेव गाउँपालिकाका खरको छानो भएका मानिसजस्ता पाता पाउँदा अत्यन्तै खुसी छन्। गरिब भएकै कारण खरको छानोमा बस्न बाध्य भएको भन्दै उनीहरूको जीवनस्तर माथि उठाउन सबैभन्दा पहिले घर निर्माण आवश्यक रहेको निष्कर्ष निकालेको थियो । सोहीअनुसार गाउँपालिकाले खरको छानोमुक्त पालिका बनाउने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए । यही निर्णयका कारण अर्घाखाँचीको छत्रदेव गाउँपालिका खरको छानोमुक्त भएको छ ।
गतवर्ष गाउँ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैयाँ जस्तापाता वितरणका लागि विनियोजन गरेको थियो । १ करोड २० लाखको १ हजार एक सय ३५ बन्डल टिन खरिद गरी वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए। सबै टिनको पातामा सीआरएम अर्थात् छत्रदेव गाउँपालिकाको छोटकरी रूप लेखी २६ गेजको टिन खरिद गरिएको हो। जस्तापाता ३ सय ३४ घरका लागि २७÷२७ पाताका दरले वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन्।
अर्घाखाचीका सन्धिखर्क, शितगंगा, भूमिकास्थान नगरपालिकाका साथै मालारानी गाउँपालिकाले पनि खरको छानो विस्थापित गर्दै जस्तापाता लगाउने अभियान सुरु गरेका छन ।। प्रदेश ५ का कतिपय स्थानीय तहले आफैं जस्तापाता किनेर दिएका छन् भने केहीले जस्तापाता किन्न अनुदान दिएर सर्वसाधारणका बस्तीलाई चम्काउँदैछन्। पाँच वर्ष्भित्र खरका छानो भएका घरमा जस्तापाता राख्न बजेट विनियोजन भइरहेको सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारीले बताए ।
गरिब र दुखि जनताको मनमा स्थानिय सरकारको अनुभुति गराउँने गरी मालारानी गाउँपालिकाले ५ वर्ष भित्र सबैको घरमा जस्तापाता लगाउँने गरी अगाडी बढेको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
अर्घाखाँचीमा मात्र होईन, प्रदेश नं. ५ का पहाडी जिल्ला गुल्मी र पाल्पाका धेरैजसो स्थानिय सरकारले फुसको छानारहित गाउँपालिका तथा नगरपालिका घोषणा गर्नेगरी बजेट विनियोजन गरेका छन । गरिब र विपन्न घरपरिवारलाई न्यानो घरमा बस्नका लागी सहज हुने हेतुले जस्ताको पाता वितरण गरिरहेका छन् । जस्तापाता वितरण पश्चात यहाँका बासिन्दाले स्थानिय सरकारको अनुभुति गरिरहेका छन् ।