रुकुमपूर्व- रुकुम पूर्वको सिस्ने गाउँपालिकाले छोरी बचत खाताको शुरुआत गरेको छ। गाउँपालिकाको वडा नं ३ पाँगांका ४ महिनाकी सिमा खड्को खाता खोलेर छोरी बचत खाताको थालनी गरेको हो। कृषि विकास बैंकमा खोलेको उनीको बचत खातामा गाउँपालिकाले ५ हजार जम्मा गरिदिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको साउन १ गतेभन्दा पछाडि जन्मिएका सबै छोरीहरुको बचत खाता खोलिदिने भएको छ।
सिस्नेले साउन पछाडि जन्मेका गाउँपालिका क्षेत्रभित्रका सबै छोरीहरुको बचत खाता खोलिदिने गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिए। गाउँपालिकाले सबै छोरीको खातामा रु.५÷५ हजार रुपैयाँ जम्मा गरिदिनेछ । छोरी बचत खाताको लागि गाउँपालिकाले मापदण्ड पनि निर्धारण गरेको छ।
महिलाले अनिवार्य ४ पटक गर्भ जाँच गराएको, स्वास्थ्य संस्थामै सुत्केरी भएको र जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले जानकारी दिए। सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिस लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलीदिने उनले बताए।
उनका अनुसार यो खाता मुद्दती हुनेछ। छोरी २० वर्ष पुगेपछि मात्रै त्यो रकम निकाल्न पाइने छ। त्यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । २० वर्षपछि उक्त रकम छोरीले निकालेर आफैं चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ। स्वास्थ्य, सचेतना, जागरणका लागि छोरी बचत कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
आमा र बच्चाको स्वास्थ्य सुरक्षा र जनचेतना बढाउने उद्देश्यले सो अभियान थालेको गाउँपालिका अध्यक्ष बरालको भनाई छ। छोरी बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ। रासस