काठमाडौँ : काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा राखिएका निमार्ण सामग्री र त्यहाँ भएका अस्थायी भौतिक संरचना हटाउने कार्य थालेको छ ।
गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको दरबार हाइस्कुल सञ्चालनका लागि अस्थायी टहरा, स्कुल निमार्णका सामग्री र वीर अस्पताल निमार्णका लागि सामग्री राखिएको थियो । अहिले स्कुल निमार्ण सम्पन्न भइसकेको छ भने अस्पताल पनि निमार्णको अन्तिम चरणमा रहेकाले कामपाले खुलामञ्चमा राखिएका सामग्री हटाउन लागेको हो ।
पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल सभा, विरोध प्रदर्शन, ¥याली, आमसभा लगायतले महानगर क्षेत्रभित्रका सडक अस्तव्यस्त बनेकाले छिटो खाली गर्न लागिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए ।
भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निमार्णका लागि खुल्लामञ्च भित्र अस्थायी रूपमा सरेको पुरानो बसपार्कलाई छिट्टै पुरानै लयमा फर्काउने महानगरको योजना छ । अस्थायी बसपार्कका लागि अर्को व्यवस्थापन नहुञ्जेल खुलामञ्चमा ठूला आमसभा हुने दिन सवारीलाई टुँडिखेल घुमाएर बसपार्क समेत खुला गर्नेसम्मको तयारी गरिएको छ ।
अहिले वीर अस्पताल निमार्णको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ । अब जतिसक्दो छिटो खुलामञ्च खुला गर्न थालिनेछ । बाँकी निमार्ण कार्यका लागि निमार्णस्थलमा सामग्री राखेरै काम गर्न सकिनेछ ।
केही समयदेखि सम्पदा बचाउ अभियानकर्ताले खुलामञ्चलाई तत्काल खुला गर्नुपर्ने माग राख्दै कामपाका प्रमुख विद्यासुन्दर शाक्यलाई ध्यानाकर्षण गराउदै आएका थिए ।
त्यस सम्बन्धमा प्रमुख शाक्यले पुनःनिमार्णको कार्यले गर्दा केही समस्या भएको भन्दै निमार्ण सम्पन्न भएसँगै पूर्णरूपमा खुलामञ्च खाली गर्ने बताउँदै आएका थिए । रासस