पर्वत : लघुजलविद्युत आयोजना मर्मत नहुँदा पर्वतका ग्रामीण क्षेत्रमा उत्पादन हुने १५६ किलोवाट जलविद्युत प्रयोगबिहीन बनेको छ ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालित झण्डै दर्जनको सङ्ख्यामा रहेका लघुजलविद्युतबाट सो विद्युत उत्पादनको क्षमता रहेको छ । कुनै समय जिल्लाका दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पु¥याउने ध्ययले जलविद्युत उत्पादनमा लगानी गरिएको थियो । लाखौँ रकम लगानी गरेर सञ्चालित लघुजलविद्युत आयोजना अहिले अलपत्र बनेका छन् ।
सामान्य लगानीमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने भए पनि स्थानीय तहको बेवास्ताका कारण आयोजना अलपत्र बनेका हुन् । विगत दुई दशक अघिदेखि युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा निमार्ण भएका जिल्लाका ११ आयोजना अहिले पूर्णरुपमा बन्द छन् ।
तीन वर्ष अघिसम्म तीनवटा मात्र आयोजना सञ्चालनमा रहेको भए पनि अहिले केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएसँगै ती पनि बन्द भएका हुन् । पछिल्ला केही वर्ष–यता सामुदायिक विद्युतीकरणमार्फत पर्वतका सबै स्थानीय तहका सबै वडामा केन्द्रीय प्रशारण लाइनको पहुँच विस्तार भएको हो ।
दक्षिण पर्वतको पैँंयु गाउँपालिकामा सञ्चालित सरौखोलामा रहेको १२ किलोवाट क्षमताको अगुवाखोला, फलेवास नगरपालिका–११ पाङराङको साढे ७ किलोवाट क्षमताको गढिसिँद्ध र विहादी गाउँपालिका–१ को ११ किलोवाटको बाच्छाखोला, पैंँयु गाउँपालिका–४ हुवासमा रहेको १२ किलोवाट क्षमताको गेडीखोला, वडा नं ७ भोर्लेमा रहेको १६ किलोवाट क्षमताको धुवाकोट, मोदी–४ क्याङमा सञ्चालित १६ किलोवाट क्षमताको घट्टेखोला लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्न छाडिएको हो ।
त्यस्तै विहादीकै बाच्छाखोलामा रहेका १९ र २१ किलोवाटको बाच्छाखोला लघुजलविद्युत आयोजनामा पनि उत्पादन गर्न छाडेका छन् । पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेमा रहेको २७ किलोवाट क्षमताको ठाडोखोला लघुजलविद्युत आयोजना पनि तीन वर्षअघि आएको पहिरोले पुरिएपछि अलपत्र बनेको छ ।
महाशिला गाउँपालिका–२ भोक्सिङको ६ किलोवाट क्षमताको छहरेखोला र ९ किलोवाट क्षमताको छर्छरेखोला लघुजलविद्युत आयोजना पनि दुई वर्षअघि गाउँमा केन्द्रीय प्रशारणलाइन विस्तार भएपछि त्यत्तिकै थन्किएका छन् ।
मर्मतको अभाव र कम क्षमता हुने भए पनि स्थानीयवासीले मर्मतमा पनि बेवास्ता गरेका हुन् । तत्कालीन जिल्ला विकास समिति ऊर्जा शाखाका प्रमुख मञ्जु शिलाकारका अनुसार मर्मतका लागि बजेटसमेत अभाव भएको र मर्मत गरेपछि पनि लामो समयसम्म काम गर्न छाडेपछि स्थानीयवासीले मर्मतमा बेवास्ता गरेका हुन् । स्थानीय तहले मर्मत गरेर बिजुली प्रयोगमा ल्याउने हो भने धेरै फाइदा हुने उनको भनाइ छ ।
उनले गाउँमा उत्पादन गरिएको बिजुली सस्तो भए पनि केन्द्रीय लाइन आएपछि उपभोक्ताबाटै यसप्रति बेवास्ता हुँदै गएको बताए । पछिल्लो समय स्थानीय तहले पनि उक्त लघुविद्युत मर्मतका लागि बजेट विनियोजन गरेका छैनन् । स्थानीयवासीको सक्रियता कम हुँदा केन्द्रीय लाइनसँगै गाउँमा सञ्चालित आयोजना बन्द हँुदै गएको बाच्छाका भीमबहादुर खड्काले बताए ।
जिल्लाका ११ लघुजलविद्युत आयोजनाबाट १५६ दशमलव पाँच किलोवाट विद्युत उत्पादन भएको थियो । यसबाट दुई हजार चार सय तीन घरधुरीका २० हजार भन्दा बढी बासिन्दा लाभान्वित भएका थिए । युएनडिपी, विश्व बैंक र सरकारको लगानीमा २०५५ सालदेखि सञ्चालनमा रहेका यी आयोजना अहिले भग्वानशेष बनेका छन् ।
ती आयोजनाको लागि रु दुई करोड २५ लाख खर्चिए तापनि केन्द्रीय प्रसारण, उपभोक्ताको बेवास्ता र मर्मत अभावले लोप हुने अवस्थामा पुगेका हुन् । रासस