बुटवल- विश्वहिन्दु महासंघ नेपालले हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि मेची महाकाली जागरण अभियान चलाउने भएको छ। फागुन ४ र ५ गते बुटवलमा भएको केन्द्रिय कार्यसमिति तथा जिल्ला अध्यक्षहरुको संयुक्त बैठकले जागरण अभियान सुरुवात गर्ने निर्णय गरेको हो। बैठकले हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देश भित्र तथा बाहिरका ओमकार परिवार तथा धार्मिक संघसंस्थासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ।
महासंघले श्रीमद भागवद् गीतालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गराउन सरकारलाई दबाब दिने, संस्कृत विषयलाई आगामी शैक्षिक शत्रदेखी विद्यालयको पाठ्यक्रममा अनिवार्य विषयको रुपमा समावेश गर्न माग गर्ने निर्णय समेत गरेको छ ।
हिन्दु धर्म संस्कारलाई प्रत्येक नेपालीको घर समाजमा पुर्याउन प्रचारप्रसार एवं घरदैलो अभियान सञ्चालन गर्ने, नयाँ सन्तानको नामाकरण हिन्दुत्व झल्किने गरि गरिदिन समस्त नेपालीहरुलाई अनुरोध गर्ने निर्णय समेत भएको विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा.रामचन्द्र अधिकारीले बताए।
महासंघले आगामी राष्ट्रिय जनगणनामा हिन्दु धर्मावलम्बीहरुको तथ्यांक तोडमोड हुन सक्ने तर्फ सचेत रहन सचेतना अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।