बुटवल-बुटवलमा आयोजना हुन लागेको दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेसनमा देश भरबाट ४ सय पत्रकारहरुको सहभागीता रहने बताइएको छ। फागुन २८ गतेबाट चैत्र १ गतेसम्म बुटवलमा हुने संघको राष्ट्रिय महाधिवेसनमा देशभारका ४ सय पत्रकारहरुको सहभागीता हुने संघ द्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
महाधिवेसनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटन समारोहमा पूर्वमन्त्रीहरु नेकपाका छबिलाल विश्वकर्मा, कांग्रेसका मिन विश्वकर्मा, र जनता समाजवादी पार्टीका दानवहादुर चौधरी लगाययतका नेताहरु, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य सहित विभिन्न पेशागत संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहने संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिए। उद्घाटन अघि पुष्पलाल पार्कबाट बाजागाजा सहितको ¥याली सुरु भएर कार्यक्रम स्थलमा पुग्ने बताइएको छ।
महाधिवेसनको अवसरमा टिआर विश्वकर्मा स्मृती राष्ट्रिय पत्रकारीता पुरस्कार, डिबी परियार स्मृती पत्रकारीता पुरस्कार, परशु सवरी पत्रकारीता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने पत्रकार सम्मेलनमा बताइएको थियो। सोही दिन साँझ चर्चित कलाकारहरुको सांगितीक कार्यक्रम पनि हुने छ।
महाधिवेसनमा ३ वटा कार्याशाला गोष्ठी समेत आयोजना गरिने संघको केन्द्रीय अध्यक्ष पहाडीले जानकारी दिए। कार्यक्रममा आम सञ्चार र समावेशीताको सवाल, मिडियामा महिलाः दलित महिला, र दलित आन्दोलन युवा र आम सञ्चार विषयमा कार्यशाला गोष्ठी हुने उनले बताए।
कार्याशालामा पत्रकार महासंघका पूर्व सभापति, तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल लगायत वक्ताको रुपमा रहने बताइएको थियो । महाधिवेसनको समापनको अवसरमा चैत्र १ गते मानव अधिकार तथा शान्ति समाजको आयोजनामा समता भोज आयोजना हुने पहाडीले जानकारी दिए।