गुल्मी । धुर्कोट गाउँपालिकाका कार्यपालिका सदस्य हरिकृष्ण बिकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा जागिर खाएका छन् ।
उनले जिल्लाको मालिका, मदाने र इस्मा गाउँपालिकामा सहजकर्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका सूचना अधिकारी यमकान्त पाण्डेयले बताए । उनी पहिलो चरणमा वैकल्पिकमा परेका थिए ।
पछि सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन भएपछि बिकलाई छनौट गरिएको पाण्डेयले बताए । धुर्कोट गाउँपालिका ३ निवासी बिक नेपाली कांग्रेसको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । उनले गत २६ भदौमा कार्यपालिका सदस्यबाट राजीनामा दिएको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताए ।
वर्षदिनदेखि गुमनाम रोशनी
गुल्मीको कालीगण्डकी गाउँपालिकाकी कार्यपालिका सदस्य रोशनी थापा एक वर्षदेखि बेखबर छन् । उनी एक वर्षदेखि पारिवारिक समस्याको कारण देखाउँदै बैठक र सभाहरुमा उपस्थित छैनन् ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट कालीगण्डकी गाउँपालिका ३ जयखानीको वडा सदस्यमा तीन सय ६५ मतले थापा विजयी भएकी थिइन् ।
उनले तत्कालिन नेकपा एमाले र जनमोर्चाको संयुक्त उमेदवार कमला आलेलाई पराजित गरेकी हुन् । गत वर्षको माघबाट वडा र कार्यपालिकाका कुनै बैठकहरुमा आफु सहभागी नभएको थापाले बताइन् ।
उनले पारिवारिक समस्याले घरमा बस्ने अवस्था नभएकाले गाउँ छोडेर बुटवलमा छोराछोरी पढाएर बस्दै आएको बताइन् ।
‘गाउँमा अर्को विवाह गरेको आरोप लगाए, परिवार र आफन्तको तनावले गाउँ छोडेँ,’–उनले भनिन,–‘परिवार नै नभएपछि पद त्यस्तै हो ।’
उनको परिवारका सदस्यले भने अर्का ठाउँ विवाह गरेर गएको आरोप लगाए । वडाध्यक्ष हेमचन्द्र बुढाले पटक–पटक बोलाउने प्रयास गरेपनि आफै बेखबर भएको बताए । उनले वडा तथा गाउँपालिकामा राजीनामा भने बुझाएका छैनन् ।
बैठकमै आउँदैनन्, शेर बहादुर
मालिका गाउँपालिका वडा नं १ नेटाका सदस्य शेर बहादुर श्रीस पनि बेखबर छन् । उनी पनि नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । गत वर्ष नै वडाका बैठकहरुमा कम उपस्थित हुन्थे ।
अहिले अधिकांश बैठकहरुमा उपस्थित नै भएनन् । श्रीस पारिवारिक समस्याका कारण देखाउँदै बैठकहरुमा नआउने गरेको वडाध्यक्ष इन्द्र बहादुर थापाले जानकारी दिए । निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा सेवा सुविधा लिने तर वडाका बैठक र काममा सक्रियता नदेखाएको भन्दै स्थानीय र अन्य जनप्रतिनिधीले पनि आलोचना गर्दै आएका थिए ।