बुटवल । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना गरेको छ । कार्यालयको एक कार्यक्रम विच सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
सो अवसरमा उनले जनस्वास्थ्य मानवसंग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए । उनले वजारमा स्वास्थ्य प्रयोगशालाहरुविच अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउदै स्वास्थ्य क्षेत्रको लागि त्यो उचित नहुने बताए । अस्वस्थ्य प्रतिस्पर्धा भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्न र दिर्घकालिन सोचाई राख्न प्रयोगशाला संचालकहरुलाई उनले आग्रह गरे । उनले प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणको लागी जग्गाको खोजी भईरहेको बताउदै स्थानीय तहसंग सहकार्य गरेर अघि वढ्ने बताए ।
सामाजिक विकास मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले स्वास्थ्य सेवालाई तिन तहको सरकार छुट्टा छुट्टै संचालन गर्ने भन्दा पनि एकिकृत भएर लैजान सकेमात्र सेवा प्रभावकारी हुन सक्ने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेश स्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको बताउदै उपयुक्त स्थानमा प्रयोगशाला निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा राजेन्द्र गिरीले अहिले १२ जनाको दरवन्दी रहेको जानकारी दिदै प्रयोगशालाको लागी स्याम्पल लिन शुरु गरिने बताए ।
प्रदेश स्तरीय प्रयोगशालाले कार्यादेश पश्चात प्रदेशमा प्रयोगशाला संचालनको अनुमति प्रदान गर्ने नियमन गर्ने तथा ल्याब टेष्टको कार्य गर्ने छ ।