काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चार माध्यममा आएजस्तो नभएको बताइएको छ ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चार माध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै भनेका छन्, “बाहिर मिडियामा आएको जस्तो जटिल र संवेदनशील अवस्था भने होइन ।”
पूर्वप्रधानमन्त्री खनालको विगत केही समय अगाडिबाट स्वास्थ्यमा सामान्य मात्र समस्या देखा परेको उनले बताए । भट्टराईले खनालको स्वास्थ्यलाई लिएर सञ्चार माध्यमले भ्रामक अफवाहमा आधारित समाचार सम्प्रेषण गर्ने र प्रचार गर्ने कामप्रति पनि आपत्ति जनाएका छन् ।
“कुनै पनि व्यक्तिको स्वतन्त्रता सम्बन्धी हकअन्तर्गत स्वास्थ्य जस्तो गम्भीर संवेदनशील कुरामा सूचना सम्प्रेषण गर्नुभन्दा अगाडि परिवारसँग जानकारी लिने वा सम्बन्धित पक्षसँग सत्यतथ्य बुझ्न सबैमा सचेत गराइन्छ” ।
विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको, पार्टी कमिटीका सम्पूर्ण कार्यक्रममा सक्रियताका साथ लागिरहनुभएको हुँदा बाहिर आएको गलत सूचनाको भ्रममा नपर्न आमनागरिक, सञ्चार जगत, प्रबुद्ध समुदाय र शुभेच्छुक र शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्दछु ।” रासस