पोखरा : पोखरामा सञ्चालित इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पसका विद्यार्थीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्याम्पसको होस्टलमा बस्ने ६३ जना विद्यार्थीहरुमा संक्रमण देखिएको गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका निर्देशक बिनोद बिन्दु शर्माका अनुसार शुरुमा एक जनामा संक्रमण देखिएको थियो । सँगै बस्ने अन्य विद्यार्थीहरुमा परिक्षण गर्दा कयाम्पसमा अध्ययनरत जम्मा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
होस्टलमा बस्ने विद्यार्थीमा संक्रमण देखिएपछि क्याम्पसका सबै विद्यार्थीको स्वाव परिक्षण गरिएको थियो । होस्टलमा बस्ने मध्य ४५ जना र १८ अन्य विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।
पहिलो चरणमा कोरोना संक्रमण देखिएका ४० जना मध्य ३६ जना क्याम्पसमै र चार जना होम आइसोलेसनमा राखिएको छ , शर्माले भने । क्याम्पसको पाठ्यक्रम अनुसार विद्यार्थीलाई पूर्वी तराईका जिल्लाहरुमा भ्रमण लगिएको थियो, सोही पश्चात संक्रमण फैलिएको शर्माले अनुमान गरे ।
पहिलो चरणमा ठूलो संख्या देखिए पनि ५ सय ५० जनाको रिपोर्टमा १८ जना मात्रमा संक्रमण पुष्टि भएका कारण ठूलो जोखिम भने नभएको उनले बताए ।
विद्यार्थीमा संक्रमण देखिएपछि स्नातक तहको सबै परीक्षा स्थगित गरिएको छ ।