भैरहवा : फागु पूर्णिमा (होली) मनाउँदा भीडभाड नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सबैमा आग्रह गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै हाल कोभिड–१९ को प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशिल भइ संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भएको सन्दर्भमा खुल्ला सीमानाको कारण सीमा नाकाहरुबाट मानिसको आवतजावत बढी भएको देखिएकाले संक्रमण बढ्न नदिन जिल्लावासीलाई सजक र सतर्क रह्न आग्रह गरेको हो ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण दर भारतमा एक्कासी पुनः बढ्न थालेपछि त्यसको प्रभाव नेपालका सिमा क्षेत्रमा पर्ने जोखिमलाई मध्यनजर गर्दै गृहमन्त्रालयले रुपन्देही सहित ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।
एसएमएस मापदण्ड (स्यानिटाइजर, मास्क र सामाजिक दुरी) तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु, गराउन सबैमा आग्रह गरिएको प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले भने ।
संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन सबैमा आग्रह गरेका छौ, त्यसबारे सार्वजनिक सूचना र माइकिङ गरेर पनि हामी सचेत गराउँछौँ । सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ ।
जबर्जस्ती रंग दल्नेलाई पनि कानुनी कारवाही गर्छौं ।’ थापाले भने यस अघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो । स्वास्थ्यले खतरा औंल्याएपछि ‘होली खेल्न दिने’ निर्णयबाट प्रशासनपछि हटेको छ ।
भारतको महाराष्ट्र, तामिलनाडु, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । त्यहाँ स्थित रोजगारीमा गएका नेपालीहरू अहिले स्वदेश फर्किने क्रम सुरु भएको छ ।