वीरगञ्ज : राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ । लिलाम प्रयोजनका लागि चिनीको नमुना परिक्षण गर्दा स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने भएकोले सो निर्णय गरेको हो । जुन स्वास्थ्यको लागि अयोग्य भनिएको छ ।
जनकपुर क्षेत्रबाट अयोग्य चिनी बिक्री बितरण भइरहेकोे रिपोर्ट आएकोले राजस्व अनुसन्धान कार्यालय पथलैयाले लिलाम परियोजनका लागि खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गरेको थियो । चिनी लिलाम बिक्री प्रक्रियाका लागि राजस्वले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको थियो ।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत टंकप्रसाद पाण्डेले खान अयोग्य प्रमाणित भएपछि चिनी व्यवस्थापनका लागि सोमबार बैठक बस्ने जानकारी दिए । ‘लिलाम गर्ने सोच बनाएका थियौं, तर गुणस्तर परीक्षण रिपोर्ट त्यसको अनुकूल देखिएन,’ उनले भने, ‘सोमबार समितिको बैठक बसेर अन्तिम निर्णयमा पुग्छौं ।’
खाद्यको रिपोर्टको आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते पथलैयालाई पत्र पठाएर चिनी नष्ट गर्न अनुमति दिइसकेको छ ।
अनुष्का मल्टिपर्पोजले भारतबाट आयात गरेको चिनी छोटो दूरीको वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गरेर नेपाल ल्याउन सफल भएको थियो ।
अखाद्य चिनी नेपाल ल्याउने व्यवसायी र उनीहरुलाई सघाउने भन्सारका कर्मचारीलाई कारबाही गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ ।