काठमाडौं : ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवानालाई प्रभावकारी बनाउनको लागी अनलाइनबाट भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
आजदेखि आफ्नै बैंक खाताबाट सीधै जरिवाना तिर्न सकिने गरी सेवा विस्तार गरेको बताउदै अनलाइन सेवा प्रदायक संस्थाहरूबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्ने कार्यलाई निरन्तरता दिने र सुविधायुक्त बनाउने , महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
यस प्रणालीको विकास सँगै आम सवारी चालकहरूलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भीडभाडमा समेत कमी आउने बताए ।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभिआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाबीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैंक खातामार्फत भुक्तान हुने गरी सिस्टम सञ्चालन गरेको महाशाखाले जनाएको छ ।
आजदेखि थप ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरूसँग समेत जोडिँदै जाने महाशाखाको योजना छ ।
सम्झौता पत्रमा हस्तान्तरण कार्यक्रममा अनलाइन सेवा प्रदायक कम्पनी फोन पे प्रालिको तर्फबाट दिवस कुमार सापकोटा र नेपाल क्लियरिङ हाउस लि (कनेक्ट आइपियस) का मुन्नी राजभण्डारी तथा अन्य प्रतिनिधिको उपस्थिति थियो ।
आगामी दिनहरूमा अनलाइन भुक्तानी प्रणाली सेवा सञ्चालनसम्बन्धी यस महाशाखाले निर्धारण गरेको मापदण्ड पूरा गर्ने अन्य सेवा प्रदायकलाई समेत आबद्ध गर्दै लाने योजना रहेको महाशाखाले जनाएको छ ।