काठमाडौं : उपत्यका लगायत ठूला शहरका विद्यालयहरु बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।
कोरोना संक्रमणको उच्च जोखिमबाट बच्न कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई प्रस्ताव गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।
जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्नुपर्ने उनले बताए । बरु जनस्वास्थ्य मापदण्ड पालना गर्छौँ तर विद्यालय बन्द नगरौँ भनेर जोखिमसँग खेल्न नहुने उनले बताए ।
पहिलेको भन्दा अहिलेको भाइरस बढि जोखिमपूर्ण भएको र युवा तथा कम उमेर समूहमा संक्रमण छिटो हुने भएकोले विद्यालयहरु बन्द गरिने भएको हो । पठनपाठनलाई अनलाइन मार्फत निरन्तरता दिने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
उनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।