काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्ने बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गरे ।
“सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भने, “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् , तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उनले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताए ।
प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताए । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सफल भएको बताए ।
“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन”, प्रधानमन्त्री ओलीले भने, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस सन्दर्भ ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” उनले २०७७ सालमा धेरै सभागृह निर्माण गरेको बताए । प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेका छन् ।
जनप्रतिनिधित्वको युगमा आइपुग्दा पनि जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गतवर्ष नै त्यो काम अगाडि बढाएका उनले जनकारी दिए ।
जनतामा आशा जागेको छ
प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताए । “जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास जनाउने काम लगातार ग¥यो”, प्रधानमन्त्री ओलीले भने, “प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन् , विभिन्न आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।” उनले महिनाको रु १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै शुरु गरेकोसमेत उनले बताए ।
दैनिक पुलहरू बनिरहेका र पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताए । उनले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाए ।
पुनः निर्माणमा असाधारण काम
प्रधानमन्त्री ओलीले भूकम्पपछि बनेको पुनः निर्माण प्राधिकरणले पुनः निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाएको बताए । “रानीपोखरी शिलान्यास गरिसक्यो, धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि जान सक्ने र माथिबाट काठमाडौँको दृश्यवालोकन गर्न सकिने गरी निर्माण हुँदैछ”, उनले थपे । प्रधानमन्त्री ओलीले नयाँ हवाई मैदानको स्तरन्नोति गर्ने, रात्रि सेवा सञ्चालन गर्ने र त्रिवि विमानस्थलमा झर्ने बित्तिकै नयाँपनको अनुभूति हुनेगरी निर्माण भएको बताए ।
प्रतिकूलताका बीचमा पनि थुप्रै विद्यालयहरू बनेको उल्लेख गर्दै उनले दरबार हाइस्कुल, यही ६ गते पाटन ढोकामा जापनाको सहयोग उच्च माध्यामिक विद्यालय उद्घाटन गर्ने तयारी रहेको जानकारी दिए ।
मेरो कित्ता कार्यक्रम आजैदेखि
प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताए । उनले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको बताए । प्रधानमन्त्री ओलीले भने, “नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौँ ।”
उनले हुम्लाको सिमीकोटमा पनि अब सडक पु¥याउने, विश्वविद्यालय, अस्पलात, शिक्षालय व्यापक निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालका लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानून निर्माण गर्ने विषयका काम तीव्रताका साथ अघि बढेको बताए ।
हल्लाका पछि नलाग्न आग्रह
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरे । उनले देश र जनता अनि मानव जातिको सर्वपरि हितको रक्षा गर्दै सरकारले काम गरेको र राष्ट्रिय हितका पक्षमा कहिले पनि बिर्सन नहुने बताए । न्यायसहित अन्तर्राष्ट्रिय उत्तरदायित्व, सामाजिक न्यायसहित शान्ति र विकासको आवश्यकता रहेको र शान्तिपूर्ण वातावरण सबैले निर्माण गर्न उनकोे आग्रह थियो ।
प्रधानमन्त्री ओलीले विश्वलाई पनि भय, त्रास र सम्मानजकरूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई विदेश असुरक्षित भएको हुँदा उपलब्ध रोजगारीका असरको खोजी गरी उपयुक्तका लागि पनि खोजी गर्न सरकारले वातावरण बनाउने बताए ।
प्रधानमन्त्री ओलीले कोभिडबाट सबैलाई बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गर्दै देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरे । रासस