चितवन- पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलवपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थालुहरु आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएको उहाँले जानकारी दिए। गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उनले बताए
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो। आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्ने गर्दछन् । यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने गरिन्छ। रासस