बुटवल-मुलुकमा झण्डै आधा शताब्दी नेपाली श्रोता माझ रेडियो नेपालकै एकाधिकार रह्यो। २००७ साल चैत्र २० गते रेडियो नेपालको स्थापना भएको हो।
२ दशक अघिसम्म पनि रेडियो सेटमा रेडियो नेपाल मात्र घन्किन्थ्यो। केही सिमित मान्छेका घरमा मात्र रेडियो हुन्थे। २०५४ सालमा काठमाडौमा पहिलो स्वतन्त्र रेडियोको रुपमा रेडियो सगरमाथा खुल्यो। रेडियो सगरमाथापछि कान्तिपुर एफएम, इमेज एफएम लगायतका निजी क्षेत्रबाट अरु रेडियो पनि थपिए।
रुपन्देहीमा २०५६ सालमा एफएम व्याण्डमा रेडियो लुम्बिनी स्थापना भएपछि भने यहाँका श्रोताले स्थानीय प्रशारण सुन्न पाए। ‘काठमाडौ बाहिरको पहिलो र दक्षिण एसियामा सहकारीले चलाएको पहिलो रेडियो थियो। स्थानीय समस्या उजागर हुन्छ, सामुदायिक संस्कृतीको विकास हुन सक्छ भनेर रेडियो स्थापना भएको हो।’ रेडियो लुम्बिनीका संस्थापक अध्यक्ष अर्जुन ज्ञवालीले भने–‘बाफरे रेडियो आयो के के न भयो भन्ने अवस्था थियो।’
२०५९ सालमा नीजि क्षेत्रबाट बुटवल एफएम खुलेपछि भने यस क्षेत्रमा रेडियोहरु बीच लोकप्रिय कार्यक्रम दिने होड चल्यो। स्थानीय विषयबस्तु समावेश भए, युवा लक्षित कार्यक्रमहरुका कारण एफएम रेडियो धेरैको रोजाइ बन्यो। एफएम व्याण्डका रेडियो सेटको बिक्री पनि ह्वात्तै बढ्यो। रेडियो नेपालको प्रसारणमा ध्यान नपुगेका धेरैलाई एफएमका कार्यक्रमले तान्यो।
बस्ती डुल्दा घरैपिच्छे एफएम रेडियो बजेको सुनिन्थ्यो। पसलमा बस्नेहरुको समय कटाउने माध्यम रेडियो नै थियो। शहर बजारका प्राय सबै जसो पसलमा रेडियो बजेको हुन्थ्यो। माइक्रो बसमा यात्रा गर्दा पनि रेडियोका कार्यक्रम, गीत संगीत र समाचार सुन्न पाइन्थ्यो।
रेडियो नेपाल भन्दा एफएम रेडियोमा श्रोताको सहभागिता पनि सहज थियो। एफएम रेडियोमा धेरै श्रोताले फोन इन कार्यक्रम मार्फत सहभागी हुने अवसर पाए।
रेडियो स्टेसनमा श्रोताको पत्रका थुप्रो लाग्थ्यो। त्यसबेला दिनमा सयौं पत्र आउने गरेको हाल अमेरिकामा रहेका बुटवल एफएमका पूर्व कार्यक्रम प्रमुख किरण मरहठ्ठा सम्झन्छन्। ‘एक दिन त ३ सय ४८ वटासम्म पत्र प्राप्त भएको मैले सम्झेको छु।’–फेसबुक मेसेन्जरमार्फत उनले लुम्बिनी टाइम्ससँग भने ‘रेडियोमा बोल्न फोनमा झुम्मिनेको संख्या उस्तै थियो।’
रेडियोकर्मीलाई स्टार मान्ने जमाना थियो। ठूलो संख्यामा प्रशंसकहरु हुन्थे। ‘मानिसहरु हामीलाई हेर्न र भेट्न आउँथे एउटा सुन्दर क्षणको अनुभव गर्न पाएँ।’–किरण सम्झन्छन्। रेडियोकै कारण आफू अहिलेको स्थानसम्म पुगेको ठान्छन उनी।
बुटवल एफएममा सुरुवात देखिकै रेडियोकर्मी डिल्ली नारायण पाण्डेका पनि रोचक अनुभव छन्। ‘रेडियोको सय दिन मनाउने क्रममा प्रत्यक्ष प्रसारण गर्न चिरन बराल र म त्रिवेणी हुँदै नारायणगढ सम्म पुग्यौं।’–उनले भनेद्द‘बुटवल एफएमबाट रेडियोबाट बोल्ने मान्छे आछन् रे भन्दै हेर्न आउँथे।’
रेडियोमा पाण्डेयले धार्मिक कार्यक्रम चलाउँथे, केही कार्यक्रममा बुढो मान्छे बोलेको नाटक पनि गर्थे।
कतिपय ठाउँमा जाँदा रेडियोमा बोल्ने डिल्लीनारायण पाण्डेय भन्ने विश्वास गरेनन् । ‘कपिलबस्तुको एउटा कार्यक्रममा गएँ। मेरो नाम सुन्दा परर ताली बजाए। आसन ग्रहण गरें। मलाई देखेर उनीहरु हिस्स परे झै माने।’–उनले सम्झे–‘त्यतिखेर युवावयको थिएँ पातलो पातलो शरीर थियो। सायद उनीहरुले कल्पना गरेभन्दा फरक भएछु कि।’
बुढो मान्छेको अभिनय गर्दा अर्घाखाँचीबाट घिउ र चुक बोकेर आएका मान्छेले विश्वास नगर्दा डिल्लीनारायाण पाण्डेले अभिनय गरेर सुनाउनुपरेको थियो।
यस्ता धेरै किस्सा छन् पुराना रेडियोकर्मीहरुसँग। रेडियो लुम्बिनी र बुटवल एफएम पछि २०६० सालमा बुटवलमा तिनाउ एफएम सञ्चालनमा आयो। त्यसै बेला भैरहवामा रुपन्देही एफएमले पनि अनुमति पायो। एफएम रेडियोको स्वर्ण युगमा रुपन्देही र आसपासका जिल्लामा ४ वटा एफएम घन्केका थिए। एफएम रेडियो स्थापना भएदेखी २०६३ सालमा लोकतन्त्र नआउँदासम्मको अवस्थालाई नेपालमा रेडियोको स्वर्ण युग भनिन्छ।
यो समयमा रुपन्देहीका ४ रेडियो बाहेक पूर्वमा नवलपरासीको गैडाकोटमा विजय एफएम पश्चिम दाङमा स्वर्गद्वारी रेडियो खुलेको थियो। पाल्पामा भने ४ वटा एफएम रेडियो भइसकेका थिए। मुलुकका अन्य शहरका सिमित रेडियोले पनि आफ्ना आसपासका ठाउँमा यसरी नै प्रभाव पारेका थिए। त्यो स्वर्ण युगमा नेपाललभर ४८ वटा एफएमले मात्र इजाजत पाएका थिए।
एफ एफ रेडियोको स्थापनाले स्थानीय उत्पादनले आफ्नो बजार विस्तार गर्ने अवसर पाए। रेडियोहरुले पनि विज्ञापन पाए। त्यो समयमा विज्ञापन दर निकै महंगो थियो। जसका कारण रेडियोहरु शसक्त थिए।
२०६३ सालसम्म रेडियोको स्वर्ण युग मानिन्छ। त्यसपछि भने रेडियोको प्रभाव विस्तारै कम हुन थाल्यो।
माघ १९ पछि रोकिएको रेडियोको इजाजत रोकिएको थियो। लोकतन्त्र आएको वर्ष २०६३ सालमै १ सय ८ रेडियो स्टेसनले प्रसारणको लागि इजाजत प्राप्त गरे। बुटवल र भैरहवामा रेडियोको संख्या थपिँदै गयो। २०६३ सालमै बुटवलमा रेडियो जागरण र भैरहवामा सिद्धार्थ एफएम थपिए। २०६४ मा रेडियो नमस्ते र मुक्ति एफएम, रेडियो रिपब्लिक र रेडियो देवदह पनि सञ्चालनमा आए। अरु रेडियोहरु पनि थपिदै गए।
संख्या बढ्दै गएपछि सुरुवाती समयका एफएम रेडियोका श्रोता पनि बाँडिए। उदाहरणको लागि बुटवलका रेडियोले नवलपरासी र कपिलवस्तुका श्रोता गुमाए। जिल्लामै खुलेका अन्य रेडियोले पनि श्रोताको ध्यान ताने। एउटैमा जमेर काम गरेका रेडियोकर्मीहरु अरु नयाँ खुलेका रेडियोमा गए। रेडियोका समाचार प्रमुख तथा कार्यक्रम संयोजक नयाँ खुलेका रेडियोमा स्टेसन म्यानेजर भएर गए। रेडियोकर्मीहरुलाई पनि नयाँ रेडियोहरुले आकर्षित गर्यो। नेपालमा टेलिभिजनको संख्या पनि विस्तार भयो। थालेकाले रेडियोबाट उत्पादीत जनशक्तिहरु टेलिभिजनतर्फ सरे। केबुललाईन विस्तारले नेपाली मात्र नभई विदेशी टेलिभिजन च्यानलले पनि श्रोताको ध्यान खिच्यो। राजनीतिक दल मात्र नभई त्यसका गुट र अन्य समुहले आ आफ्नै हिसाबले रेडियो खोल्दै गए। जसका कारण रेडियोको व्यवस्थापन कमजोर हुँदै गयो।
स्मार्ट मोबाइलको दबदबामा रेडियो
अहिलेको सूचना प्रविधिको युग र सामाजिक सञ्चालका कारण रेडियो, पत्रपत्रिका, टेलिभिजन सबैलाई ओझेलमा पारेको छ। तर त्यसबाट सबै भन्दा बढी प्रभावित रेडियो भएको छ। सुरुवातमा मोबाइल पनि रेडियो सुन्ने माध्यम बनेको थियो। तर स्मार्ट मोबाइलको विकासपछि रेडियोमा मात्र सिमित रहेन समाज। अहिले मानिसहरु धेरै समय मोबाइलसँग बिताउँछन्। मोबाइल सेटमा रेडियो बाहेक दर्जनौ कुराको सुविधा लिन सकिन्छ। सामाजिक सञ्जालले मानिसलाई मोबाइलमा भुलाएको छ।
त्यसबाहेक पत्रपत्रिकाका समाचार पढ्न, टेलिभिजनका कार्यक्रम हेर्न, फिल्म, सिरियल हेर्न, गेम खेल्न लगायतका धेरै सुविधा मोबाइलमै छ।
आवाज सुन्ने माध्यम रेडियोमा भने निकै कम मान्छेको ध्यान जाने गरेको छ। श्रोता ह्वात्तै घटेपनि रेडियो स्टेसनको संख्या दिन प्रतिदिन बढेको छ। नेपालभर हालसम्म ७ सय ७० वटो एफएम रेडियोले इजाजत पाएका छन्।
बुटवल पश्चिम सैनामैनामा केही वर्ष यता आधादर्जन रेडियो भइसके। भैरहवा, मणिग्राम रेडियो थपिएका छन्। फर्साटिकर, रुद्रपुर, लुम्बिनी लगायतका ठाउँमा नयाँ रेडियो खुले।
अन्य जिल्लाका पनि शहरमा मात्र नभई ससाना बजारमा रेडियो खुलेका छन्। तर रेडियोको दैनिकी विगत भन्दा भिन्न छ। धेरै रेडियो एक दुइ जना कर्मचारीको भरमा चलेका छन्। केन्द्रबाट रिले गरेको समाचार बजायो। बाँकी समय गितै गित धेरै रेडियोको अवस्था यस्तै छ। किरण मरहठ्ठाको पालामा जस्तो आज श्रोताका पत्र आउँदैनन्। अनि डिल्ली नारायण पाण्डेलाई जसरी अहिलेका रेडियोकर्मीलाई श्रोताले भेट्न पनि खोज्दैनन्।