बुटवल – ‘वाव नेपाल सरकार ! सुरक्षित रुपमा स्वदेश आइयो यहाँको व्यवस्थापन र स्याहारको प्रबन्ध देखेर खुशीले आँसु झरे।’ कोरोना भाइरस सुरु भएको चीनको वुहान सहरबाट उद्दार गरी स्वदेश फर्काइएका नेपाली विद्यार्थीहरुले यहाँ आएपछि लेखेका स्टाट्स र प्रतिक्रियाहरु हुन् यी।
कोरोना भाइरस डिजिज–२०१९ अर्थात् ‘कोविड–१९’को संक्रमण सुरु भएको चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा थुनिएसरह रहेका नेपाली विद्यार्थीहरुलाई आइतबार बिहान स्वदेश फर्काइएपछि यहाँको व्यवस्थापन देखेर उनीहरु औधी खुशी भएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै बसोबासको व्यवस्था गरिएको र सरकारको प्रभावकारी व्यवस्थापन देखेर आफुहरु खुशी भएको उनीहरुको भनाइ छ।
‘वाव, नेपाल सरकार, वाव म्यानेजमेन्ट वेल डन। प्राउड अफ नेपाल’ रुपन्देहीको सैनामैनाका बासिन्दा अर्थोपेडिक सर्जन डाक्टर विकास न्यौपाने, अर्घाखाँचीको ढाकावाङबाट कपिलवस्तुको वाणगंगा–८, चप्परगाउँमा बसाई सरेका अर्का डाक्टर सरोज खनालले सामाजिक सञ्जालमा लेखेका छन्–त्यहाँ (चीनमा) रहँदाको मानसिक पीडा र तनाव यहाँ आएपछि समाधान भएको छ। खनाल वायोक्यामेष्ट्री विषयमा विद्यावारिधीका लागि त्यहाँ गएका थिए। उनी अहिले खरिपाटीमा राखिएको क्वारेन्टाइनमा परीक्षणका लागि बसेका छन्।
भारत र बंगलादेशका विद्यार्थीहरुको उद्धार एक साताअघि भए पनि नेपाल सरकारको तयारी भारत र बंगलादेशको भन्दा अब्बल भएको मोरङका सौरभ लुईटेलको टिप्पणी छ। संक्रमण फैलिएलगत्तै ती देशले आफ्ना नागरिकलाई स्वदेश फर्काएको रहेछ। तर, नेपालमा भने स्वदेशमै राख्ने ठाउँका बारेमा लामो समयसम्म विरोध भइरह्यो।
उनीहरु जहाँबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो त्यहीँ सहरमा थिए। चिकित्सा क्षेत्रमा विभिन्न विधामा अध्यय्नका लागि उनीहरु त्यहाँ गएका थिए। नेपाल फर्किने भन्दै आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या आएपछि उनीहरु चीनमै रोकिए। चारजनाले नेपाल फर्कन अस्वीकार गरेका बेइजिङस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।
एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार आइतबार बिहान नेपाल फर्किएका थिए। त्यहाँ रहेका एक सय ८० जनामध्ये आठ जना चिकित्साका विद्यार्थी हुन्। ‘चीनमा तीन सातादेखि बजार ठप्प थियो, एक छाक खाएर बसेका थियौं, पानी पनि अभाव भएको थियो, कहीँ कतै सम्पर्क खर्ग पाइएको थिएन, यता घरपरिवारले सोधिरहन्थे पीडा लुकाएर ठिकै छ भन्थ्यौं यहाँ आएपछि त वाव हाम्रो देश भन्ने भएको छ’ विद्यावारिधि गरिरहेका खनालको भनाइ छ।
चीनकै अन्य शहरबाट त्यहाँ जान र त्यहाँका नागरिकलाई अन्यत्र जान समेत प्रतिबन्ध लगाइएको, सहर बन्द गरिएको, खानेकुराको अभाव भएको, कसैसंग भेटघाट गर्न पनि नदिइएको र एकखालको नजरबन्दमा बसेको जस्तो भएको खनालको प्रतिक्रिया छ। तर, यहाँ स्वदेशमा आएपछि गजबको अनुभूति भइरहेको छ, खुशीले आँसु झरेका छन्, हामीलाई गरिएको व्यवहार वास्तवमै उदाहरणीय छ।
खरिपाटीमा आएपछि आफूहरुले ठूलो मानसिक तनावबाट मुक्ति पाएको र परिवारसंग टेलिफोनमा कुरा भइरहेको उनीहरुको भनाइ छ। बुहानमा २३ जनबरीबाट बजार बन्द भएर ‘पब्लिक सर्भिस’ मा ‘ब्लक’ गरेसँगै आवश्यक सामाग्रीको अभाव सृजना भएको र मानसिक तनाव झन भोग्नुपरेको खनालको गुनासो छ।
‘ढिलै भएपनि नेपाल सरकारले राम्रो व्यवस्था गरेको देख्दा भावविह्वल भएको छु। साथीहरूसँग बुझ्दा साउथ एसियामा भारत, पाकिस्तान, बंगलादेशका साथीहरूले भनेको भन्दा हाम्रो धेरै राम्रो लाग्यो,’ खनालले भने। खरिपाटीमा नेपाली सेना, नेपाल प्रहरी, तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र एम्बुलेन्सहरू राखिएको छ। भित्र बस्नका लागि गरिएको व्यवस्था अत्यन्तै राम्रो रहेछ। हामीहरु खुशीले गदगद छौं।’-खनालको प्रतिक्रिया छ।
कोरोनाको संक्रमण देखिएन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँचपछि सबैलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र परिसरमा बनाइएको क्वारेन्टाइनमा लगिएको थियो। त्यहाँ पु¥याएपछि स्वास्थ्य परीक्षण सुरु गरिएको थियो।
२४ घन्टा भित्र परीक्षण गर्नुपर्ने रगत तथा ¥यालको परीक्षणमा उनीहरु कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन्। उनीहरुको रगत र ¥यालको नमूना संकलन गरेर टेकुस्थित केन्द्रीय प्रयोगशालमा परीक्षण गरिएको थियो। कोरोना भाइरस देखियो भने उनीहरुलाई टेकु अस्पताल ल्याएर आइसोलेसन वार्डमा राखिने छ।
तर, पहिलो परीक्षणमा उनीहरुलाई कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। योसँगै हरेक दिन विद्यार्थीहरुको दुई पटक ज्वरो परीक्षण गरिने छ। १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा ज्वरो देखिए सीधै आइसोलेसन वार्डमा राख्नेगरी वेड र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ।
चीनमा कहाँ–कहाँ थिए नेपाली ?
चीनको वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो।