बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालकै पार्किङबाट मोटरसाईकल चोरी भएको घटना बाहिर आएको छ। पार्किङ शुल्क लिएर पार्किङ व्यवस्थापन गर्ने भनिएपनि अस्पताल परिसरभित्रबाटै मोटरसाईकल चोरी हुँदापनि सम्बन्धित पक्ष गम्भीर छैनन्।
लुम्बिनी प्रादेशिक अस्पतालले मोटरसाईकल चोरी हुँदा पनि पार्किङलाई सुरक्षित र व्यवस्थित गर्न नसकेको पीडितको गुनासो छ। आफ्नो आफन्तको मोटरसाईकल अस्पताल परिसरबाट हराएपछि बुटवल पुरानो बसपार्कका होटल व्यबसायी लेखनाथ भण्डारीको समेत पहलमा प्रहरीले खोजी अभियान अगाडि बढाएको हो। ‘अस्पताल परिसरबाट हराएपछि पार्किङ्मा राखेका मोटरसाईकलको दायित्व अस्पतालले लिनुपर्ने हो।’ उनले भने–‘तर अस्पताल प्रशासन आफ्नो दायित्वबाट पन्छिन खोज्यो ।’
आफूले अस्पताल प्रशासनलाई दायित्वबोध गराएपछि मात्रै सिसिटीभि फूटेज हेर्ने र अनुसन्धानमा सहयोग गरेको उनले बताए। यस बिषयमा अस्पताल प्रशासनलाई दायित्वबोध गराउन आवश्यक रहेको उनको भनाई छ।
प्रहरीले अस्पताल परिसरसहित रुपन्देहीका बिभिन्न स्थानबाट चोरी भएका मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ। रुपन्देहीका बिभिन्न स्थानमा मोटरसाईकल चोरी गरेको अभियोगमा प्रहरीले रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा, २५ वर्षीय जीवनकुमार पुन मगर तथा रुपन्देहीकै देवदह नगरपालिका वडा नं. ११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए।
प्रहरीले उनीहरुको साथबाट लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल, लु १६ प ४२१३ नम्बरकोे स्कुटी, लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल, लु ३३ प ३०५ नम्बरको एभेन्जर मोटरसाईकल र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल बरामद गरेको छ।
यहि फागुन १ गते रातीको समयमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पार्किङ्मा राखेको लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल हराएको थियो। उक्त मोटरसाईकल खोजी गर्ने क्रममा प्रहरी रुपन्देहीको देवदह नगरपालिका वडा नं. ११ रेहरा स्थित धर्मेन्द्र चमारको आफ्नै घरमा लु ३२ प ९२५९ नम्बरको पल्सर सहित फेला पारेपछि खोजी शुरु गरेको र प्रहरीले बाँकी मोटरसाईकल चोरी गरेर लैजाँदै गर्दा बुटवल उपमहानगरपालिका वडा ११ देवीनगरबाट पक्राउ गरिएको भट्टराईले बताए।
लु ५८ प ५५१७ नम्बरको पल्सर मोटरसाईकल गत १ गते राती लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको पार्किङ् स्थलबाट हराएको थियो। त्यस्तै गत आईतबार आफ्नै घरमा पार्किङ गरेर राखेको लु १६ प ४२१३ नम्बरकोे स्कुटी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ७ भलवारीबाट चोरी भएको थियो भने सोही दिन बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा आफ्नै घरमा पार्किङ्मा राखेको लु ४३ प ४६५५ नम्बरको यामाहा मोटरसाईकल चोरी भएको प्रहरीले जनाएको छ।
उनिहरुको साथबाट प्रहरीले बरामद गरेको लु ३३ प ३०५ नम्बरको एभेन्जर र लु ३२ प ९२५९ नम्बरको पल्सर मोटरसाईकल र पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ। महंगोमा किनेका मोटरसाईकल चोरी गरेर १५/१६ हजार रुपैंयामा बिक्रि गर्ने गरेको समेत पाईएको प्रहरीले जनाएको छ।