बुटवल-प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपालमा हालसम्म कोरोना देखा नपरेका कारण सतर्क रहन आह्वान गरेका छन् । शुक्रबार प्रदेश ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले बुटवलमा पत्रकारहरुसँग गरेको अन्तरक्रियामा बोल्दै उनले त्रसित नहुन आग्रह गरे।
नेपालमा कोरोना भित्रिन नदिनका लागि आवश्यक सम्पूर्ण तयारी र सजगता अपनाइएको बताउँदै उनले सशंकित नहुन सबैलाई सुझाव दिए ।
उनले प्रदेश ५ मा संक्रमण हुन नदिनका लागि आवश्यक तयारी गरिसकेको र संक्रमण भइहालेमा आइसोलेशन र क्वारेन्टाइनका लागि तयारी अवस्थामा रहेको बताए ।
‘संक्रमण फैलियो भने के गर्ने भनेर हामीले छलफल गरेर निचोड निकालिसकेका छौं, उनले भने–नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीलाई परिचालन गरेर हामीले काम गर्ने छौं, उनीहरुकै अस्पतालहरुलाई आइसोलेशन वा क्वारेन्टाइन बनाउन सकिने गरी पनि तयारी भएको छ, अरु क्षेत्रहरुमा पनि क्वारेन्टाइन राख्न सक्ने स्थानहरु हेरिसकेका छौं ।’
उनले संक्रमण रोक्न व्यक्तिले आफै सतर्कता अपनाउनुपर्ने र संक्रमण भइहालेमा प्रदेश सरकारले उपचार गर्नका लागि तयारी गरिरहेको बताए ।