कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकामा उपमेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतबीच विवाद भएको छ। नगरपालिकामा हाल सम्म कुनै पनि विकास निर्माणको काम नभएको तर कागजात मिलाएको भरमा भुक्तानी दिएको र उपमेयरलाई कुनै जानकारी विना टेण्डर गरेको भन्ने विषयमा विवाद भएको हो।
विकास निर्माणका कामको टेण्डर इविल्डीङ्ग र पत्रपत्रिकामा सूचना प्रकाशन गरी प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरीले बताए। सबै प्रक्रिया पुरा गरी टेण्डर आह्वान गरेको र सोही टेण्डर खोल्ने क्रममा उप मेयरलाई कुनै जानकारी नदिई टेण्डर खोल्न लागेको भन्दैे विवादसंगै आफुमाथि हातपात भएको चौधरीले बताए । हातपात नै भए पछि प्रहरीलाई बोलाएर सुरक्षित भएको उनले बताए।
निमित्त प्रमुख प्रशासकिय अधिकृतले आफुमाथी हातपात भएको भन्दै प्रेस विज्ञप्ती समेत निकालेका छन। निमित्त प्रमुख प्रशासकिय अधिकृत चन्द्रराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विहिबार दिउँसो १२ः४५ बजेको समयमा आफुमाथि कार्यकक्षमा नै सोझै हातपात भएको कार्यालयमा सौहार्दपूर्ण वातावरण र कर्मचारीको सुरक्षा नभए सम्म सम्पूर्ण कामकाज रोक्का गरिएको जनाएका छन्।
उप मेयर शबनम खातुनका प्रतिनिधीले उप मेयरलाई जानकारी नै नदिई एकलौटि रुपमा टेण्डर आह्वान गर्ने, टेण्डर निकाल्ने र भुक्तानी दिएको विषयमा सामान्य विवाद भएको तर हातपात नभएको बताए।
उप मेयरका प्रतिनिधि उनका श्रीमान तुफेल खानले नगरमा हालसम्म कुनै विकास निर्माणको काम नै नभएको तर १ करोड भन्दा बढी रकम निकासा दिएको, योजनाका कामहरुको उपमेयरको अनुगमन विना नै निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतको मिलेमतोमा भुक्तानी गरेको जनाए।
विहिबार खुल्न लागेको वडा नं. ३ र ८ को पोखरी सुन्दरीकारणको टेण्डर र वडा नं. ९ र १० को बाटो निर्माणको टेण्डरका बारेमा पनि उप मेयरलाई कुनै जानकारी किन नदिएको भन्ने विषयमा बुझ्न खोज्दा विवाद भएको हो। विवादका कारण विहिबार खुल्नु पर्ने सोहि टेण्डर खोलिएको छैन।
नगर प्रमुख रजत शाहले भने आफु कार्यालयमा नभएको तर घटनाबारे जानकारी पाएको बताएका छन्। काठमाण्डौ रहेका नगर प्रमुख शाहले आफु आएपछि सत्य तथ्य बुझी घटनाका दोषीलाई कारबाही गरिने बताए।