बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले दीर्घकालीन योजनाका रुपमा रहेको लामीरह जलासय पार्कलाई बुद्ध सर्किटमा जोडेर अगाडि बढाउने भएको छ । सैनामैनाका प्रमुखको ड्रिम प्रोजेक्टका रुपमा यो बहुउद्देश्यीय पार्कलाई पहिलो प्राथमिकतामा राखेर सम्भाव्यता अध्यय्न गरिएको थियो ।
सैनामैनाको यो जलासययुक्त बहुउद्देश्यीय पार्कको निर्माणले सिंचाइ सुविधाका अतिरिक्त पर्यटकीय क्षेत्रका रुपमा विकास हुने भएकाले योजना अगाडि सारिएको नगर प्रमुख कार्कीले जानकारी गराए ।
अध्ययन पूरा भएका योजनालाई छिटो अगाडि बढाउन निर्देशन
पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सैनामैनाको विकास लागि संघीय सरकारबाट विशेष सहकार्य हुने बताए । उनले सैनामैनालाई लुम्बिनीसंग जोडेर विकास गर्नुपर्ने भन्दै अहिले सम्भाव्यता अध्ययन भइरहेका योजनाका कामलाई छिटो अगाडि बढाउन निर्देशन पनि दिए ।
सोही क्षेत्रको अवलोकनका लागि बिहीबार स्थलमै नेकपा महासचिव पौडेलले सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनका कामलाई प्राथमिकतामा राखिएको बताए ।
ध्यान केन्द्रसहितको विशेष संग्रहालय बनाइँदै
यस्तै सैनामैनामै विशेष संग्रहालय बन्ने भएको छ । सैनामैनाको बुद्धकालिन सभ्यतालाई संरक्षण गर्दै वडा नं. १ को बनकट्टामा उक्त संग्रहालय निर्माण गर्न लागिएको प्रमुख कार्कीले जानकारी दिए । संग्रहालयको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।
संग्रहालय निर्माण हुने क्षेत्रको अवलोकन गर्दै पूर्वअर्थमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले डीपीआर पूरा भइसकेकाले अब कुनै पनि बहानामा निर्माणका कामहरुमा विलम्ब नगर्न निर्देशन दिए ।
कुल लागत ३८ करोड अनुमान गरिएको यो संग्रहालय नेपाल सरकारको सहरी विकास मन्त्रालयमातहत निर्माण हुने छ । यस्का लागि पहिलो चरणमा सोही मन्त्रालयले १० करोड बजेट विनियोजन गरिसकेको छ ।
सैनामैनाको यो जलासययुक्त बहुउद्देश्यीय पार्कको निर्माणले सिंचाइ सुविधाका अतिरिक्त पर्यटकीय क्षेत्रका रुपमा विकास हुने भएकाले योजना अगाडि सारिएको नगर प्रमुख कार्कीले जानकारी गराए ।
उहाँले सिंचाई, पर्यटन, चुरे संरक्षण, पर्यावरण संरक्षण, भूमिगत पानीका प्राकृत्तिक स्रोतहरुमा रिचार्ज पुग्नेदेखि हरियाली प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए । करिब सात किलोमिटर लामो पैदल पथ बनाइने, बोटिङ सञ्चालन गर्ने समेत योजना छ ।
सैनामैना नगरपालिकाले अहिले गुरुयोजना निर्माण गरेर अगाडि बढ्ने गरी काम सुरु गरेको छ । नगरले स्थानीय कानुन निर्माणका कामलाई तीव्रता दिएको र त्यो संगै योजनाअनुसारका कामहरु अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए ।