बुटवल–बुटवलको लुम्बिनी बस टर्मिनल अर्थात बुटवल बसपार्कमा केही दिन यता यात्रुहरुको चाप दशैंको बेला जस्तै छ। माध्यमिक शिक्षा परिक्षा एसइइका साथै विश्वविद्यालयका सबै परिक्षा स्थगित भयो। सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भए।
शैक्षिक गतिविधि बन्द भएपछि विद्यार्थीहरु आ आफ्ना गाउँघर जाने सुर कसे। कोरोनाको त्रासका कारण सुनसान जस्तो रहेको बुटवल बसपार्कमा परिक्षा स्थगितको सुचनासँगै भिड बढ्यो।
साथै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन मार्फत १० गतेदेखी लामा दुरीका सवारी साधन नचल्ने र अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेपछि घर फर्कनेको ओइरो झन बढेको छ।
अध्ययन, जागीर र व्यवसायको सिलसिलामा गुल्मी, अर्घाखाँची, पाल्पा, स्यांङजा, पर्वत, बाग्लुङ लगायतका पहाडी जिल्ला र तराइका आसपासका जिल्लाका मानिसहरु बुटवलमा रहेका छन्।
विशेष गरेर गुल्मी र अर्घाखाँची जाने यात्रुहरुको बुटवल बसपार्कमा बढी भीड देखिन्थ्यो। बसपार्कमा मानिसहरु आफ्ना झिटी गुण्टासहित गाडी पर्खेर बसेका थिए। सरकारले २५ जना भन्दा बढी जम्मा नहुन आग्रह गरेको भएपनि बसपार्कमा एक ठाउँमा सयौ मान्छे जम्मा भएको देखिन्थ्यो। उनीहरु जोखिम मोलेर टिकटको लागि लागेका थिए।
गुल्मीका जगन्नाथ गौतम र उनकी बहिनी पनि बसपार्कमा बस पर्खेर बसेका थिए। ‘मेरो परिक्षा पनि स¥यो, उसको पढाइ पनि सकियो त्यसैले घर हिडेको’–उनले भने–‘कोरोनाको हल्ला पनि बढी भयो।’
बुटवलमा होटल व्यवसाय गरेर बसेका कृष्ण न्यौपानेले आफ्ना परिवारलाई अर्घाखाँचीको देउराली पठाउँदै थिए। ‘यहाँ त्रास पनि भयो, बच्चाको पढाइ पनि छैन त्यसैले पठाउन लागेको’–उनले भने–‘अवस्था खराब भयो भने पछि आफू पनि जानुपर्ला अहिले बालबच्चा पठाउँदै छौ।’
विश्वमा फैलिएको कोरोना भाइसरको चर्चासँगै अनावश्यक हिडडुल गर्न छाडेका थिए। जसका कारण सवारी साधन र बसपार्कमा केही दिन यता चहलपहल थिएन। यात्रा गर्नेहरुको संख्या आधाले घटेको थियो। तर हिजोआज सामान्य अवस्था भन्दा निकै भिडभाड भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक सदस्य चेतनारायण बेलबासेले बताए। ‘सामान्य अवस्थाका सेड्युल भन्दा धेरै गाडीहरु हामीले पठाइरहेका छौं’–उनले भने–‘दशैंकै झल्को दिने गरी बिहानैदेखि भीड छ।’
गुल्मी जाने बसहरु सामन्य अवस्थामा भन्दा एक दर्जनभन्दा बढी गाडी पठाएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका गुल्मी रुट हेर्ने सञ्चालक सदस्य विजय तिवारीले बताए। ‘कोरोनाको त्रासका कारण एउटा गाडीमा ८–१० जना मात्र हुन्थे–उनले भने–३ दिन यता सबै गाडी सिट फूल भएर पनि गाडी थपेर पठाएका छौं।’