बुटवल–कोरना भाइरस (कोभिड १९) को असर सर्वसाधारणको दैनिक जीवनयापनमा समेत पर्ने सम्भावना ठानेर प्रदेश ५ सरकारले योजना सहित तयारी अगाडि बढाएको छ।
सरकारले सर्वसाधारणको जीवनयापनलाई सहज बनाउन र सम्भावित आर्थिक संकटलाई ब्यवस्थापन गर्न व्यवसायिक संघ संस्थाहरु संग छलफल छलफल गरेको हो।
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले आइतबार मन्त्रालयमा आयोजना गरेको रुपन्देहीमा रहेका निजी क्षेत्रका व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुसंगको छलफल कार्यक्रममा कोरनाको सम्भावित संक्रमणलाई रोक्न सबैको ध्यान आम समूदायको हितमा केन्द्रीत हुनुपर्नेमा जोड दिए।
मन्त्री गिरीले यस्तो संकटको अवसर छोपेर अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने कार्यलाई रोक्ने अभियानमा व्यवसायिक संघसंस्थाहरुको नेतृत्व हुनुपर्नेमा जोड दिए।
उनले यो संकटमा व्यवसायीहरुका पनि बैंक ब्याज र किस्ता समयमा बुझाउन नसक्ने, राजस्व तिर्ने समेत सहज वातावरण नहुने विषयलाई आफुले मन्त्रिपरिषदको बैठकमा राख्ने र व्यवसायीका समस्या केन्द्र सरकारसमक्ष सिफरिस गर्ने विषयमा आफुले पहल गर्ने विश्वास दिलाए।
छलफलमा व्यवसायीहरुले कोरोनाको संक्रमण नियन्त्रणका लागि जनचेतनासंगै नेपाल–भारत सीमामा कडाइ गर्न र स्वास्थ्य हेल्पडेक्सलाई प्रभावकारी बनाउन सुझाव समेत दिएका छन्। व्यवसायीहरुले भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएकालाई समयमै र निश्चित समयसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन प्रदेश सरकारलाई अनुरोध गरेका छन्।
उनीहरुले कोरोनाको त्रास र यसलाई नेपालमा भित्रन नदिने योजनामा निजी क्षेत्रले पनि सरकारका काममा सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। उनीहरुले यसबाट आउने संकटबाट व्यवसायिक क्षेत्र सबैभन्दा बढी मारमा पर्ने भएकाले सरकारले बैंकका ब्याज छुट, किस्ताको समय सीमा पछाडि सार्ने र घरभाडामा छुट दिलाउने जस्ता विषयमा पहल गरिदिन अनुरोध गरेका छन्।
बैठकमा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले कोरोनाको संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका उद्योग, व्यवसाय तत्काल बन्द गरिनुपर्ने र सीमानाका समेत कडाइका साथ बन्द गर्नु उचित हुने सुझाव दिए।
पर्यटन व्यवसायी माधव नेपालले निजी क्षेत्रका लागि बैकको ब्याज र किस्ताका विषयमा सरकारले उचित कदम लिइदिन अनुरोध गरे। उनले सबै व्यवसायिक तथा सार्वजनिक क्षेत्रमा कडा निगरानी बढाउनुपर्नेमा जोड दिए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेमबहादुर हमालले आवश्यकता अनुरुप सम्पूर्ण क्षेत्रमा पूर्णरुपमा बन्द (लक डाउन) गर्न आवश्यक भए तत्काल कदम चाल्नुपर्नेमा जोड दिए।
सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद शर्माले अस्पताल पुगेका बिरामीलाई उपचारका काममा छिटो, सहज र सरल सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले उद्योगहरुमा कच्चा पदार्थ रहेपनि त्रासका कारण उद्योगहरु बन्द गर्नुपर्ने अवस्था देखिएकाले अत्यावश्यक वस्तुहरुको उचित व्यवस्थापन गर्नेतर्फ ध्यान दिन सरकारलाई अनुरोध गरे।
नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष नारायण भण्डारीले बैंक किस्ताको सिमा सार्ने विषयमा सरकारी तवरबाट राहत दिन अनुरोध गरे।