काठमाडौ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका वडा कार्यालयलाई आफ्नो वडामा विदेशबाट आएकाहरूको विवरण दैनिकरूपमा आफूकहाँ पठाउन र उनीहरूको निगरानी गर्न निर्देशन दिएको छ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको निर्णय अनुसार यस्तो निर्देशन दिएको मन्त्रालयले जनाएको छ।
'प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरूको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सो को संख्यात्मक विवरण दैनिकरूपमा मन्त्रालयमा पेश गर्नु,' मन्त्रालयको वेवसाइटमा राखिएको सूचनामा उल्लेख छ।
संघीय मामिला मन्त्रालयले सार्वजनिक स्थलमा २५ भन्दा बढी भेला हुन नदिने, चैत्र मसान्त सम्म सिनेमाहल, स्विमिङ् पुल, क्लब, सांस्कृतिक स्थलहरूलाई बन्द गराउन पनि निर्देशन दिएको छ। मानिसहरूको जमघट हुने सार्वजनिकस्थानमा दैनिक डिसइन्फेक्सन एवं सरसफाई गराउन पनि सम्बन्धित निकायलाई मन्त्रालयले निर्देशन दिएको छ।