काठमाडौ-सरकारले सोमबारबाट लामो दुरीका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ। कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको थियो।
काठमाडौं उपत्यकाभित्र छोटो दुरीका सार्वजनिक यातायात चलाउन पाउने तर बाहिर जाने लामो दुरीका सवारी भने रोक लगाइएको यातायात मन्त्री वसन्तकुमार नेम्वाङले बताए।
सरकारले लामो दूरीको परिभाषामा २५० किलोमिटर भन्दा लामो दूरीलाई राखेको भएपनि कोरोना संक्रमण फैलिन नदिन एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने यातायात व्यवस्था विभागले जनाएको छ । एउटै जिल्ला भित्र चल्ने सवारी साधनमा कुनै रोक लगाइएको छैन ।
निजी गाडीलाई सार्वजनिक सवारीका रूपमा प्रयोग गर्न पनि रोक लगाइएको छ। कुनै निजी गाडीले यात्रु ओसारपसार गरेको फेला परे सरकारले जफत गरेर कोरोना भाइरससम्बन्धी सचेतना अभियानमा प्रयोग गर्ने मन्त्री नेम्वाङले जानकारी दिए।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै केही दिनलाई सार्वजनिक यातायातमा रोक लगाइने बताएका थिए।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले रोगको संक्रमण नफैलियोस् भनेर लामो दुरीका सार्वजनिक सवारीमा रोक लगाइएको बताएका छन्। 'एउटै गाडीमा धेरै जना लामो समय यात्रा गर्दा पनि संक्रमण एउटा व्यक्तिबाट अर्कोमा सर्न सक्छ,’ हमालले भने।
निजी सवारी वा मोटरसाइकल/स्कुटरका हकमा भने कुनै निर्णय नभएको उनले बताए। ‘हालसम्म यस्ता सवारी साधन रोक लगाउने कुरा छैन। केही नयाँ निर्णय भयो भने हामी सूचना निकाल्छौं,’ उनले भने।