गुल्मी-जिल्ला प्रशासन कार्यालय गुल्मीले विश्वमा फैलिएको कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न ‘लक डाउन’ गर्ने निर्णय गरेको छ।
जिल्ला सुरक्षा समितिको बैठकले आज सोमबार राती १२ बजेदेखि अनिश्चितकालसम्मका लागि ‘लक डाउन’ गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी भरतकुमार पौडेलले यो निर्णय अगाडि स्थानीय तहसंगै सर्वदलीय सर्वपक्षीय परामर्श गरेका थिए।
जिल्लामा प्रवेश गर्ने खाद्यान्य, तरकारी, फलफुल, दुध, पानी, इन्धन, औषधी बोक्ने मालबाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए।
उनले अर्को सूचना नभएसम्मको लागि यो निर्णय कार्यान्वयन गर्न सम्पूर्णलाई जिल्ला सुरक्षा समितिले आग्रह गरे। मालबाहाक गाडीको हकमा पनि चालक र सहयोगी मात्र हुनु पर्नेछ।
उनीहरु पनि हेल्थ डेक्समा अनिबार्य चेकजाँच गर्ने र आवश्यक परे क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी लक्ष्मण पाण्डेयले बताए।
औषधि र पेट्रोलपम्प २४ सैं घण्टा खुला रहनेछन्। इन्धन, दाल, चामल, तेल, नुन, दुध टडेरी, तरकारी तथा फलफुल पसल बाहेक सवै पसलहरुको बन्द गर्ने निर्णय बैठकले गरेको छ।
बजार बन्द गराउँदै बाणिज्य संघ
विश्वभर कोरोना संक्रमणको त्रास बढेपछि त्यसको न्यूनिकरणको लागि गुल्मी उद्योग बाणिज्य संघले सदरमुकाममा सोमबार आफैले पसल बन्द गराउँदै हिडेको थियो।
सबै वर्ग आफै सचेत नभएसम्म जोखिम कम गर्न नसकिने भएकाले संघलेनै बन्द गराउँदै हिडेको वाणिज्य संघका महासचिव तारा भुसालले बताए। उनले सदरमुकामसहित ठुला बजार रिडी, बलेटक्सार, वामी टक्सार लगायतका स्थानमा पनि व्यावसायीहरुले पसलहरु बन्द गराएको जानकारी दिए। जसका कारण नेपाल बन्दको भन्दा पनि बजार क्षेत्र सुनसान बन्दै गएका छन्।