काठमाडौ-सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ। कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो।
लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ। यो सँगै भोलिदेखि कुनैपनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। त्यस्तै सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। पर्यटन मन्त्री योगेश भट्टराईले लकडाउनको निर्णय भएको जानकारी दिए। लकडाउन एक सातासम्म हुनेछ।
यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन ।
जानकारहरुका अनुसार यो कानुनी भन्दा पनि जनताकै हितमा सरकारले लिएको निर्णय हो । जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नहोस् भन्नका लागि नै ‘लकडाउन’ गरिएको हो ।
के हुन्छ त ?
सरकारले लकडाउनका समयमा घरबाहिर निस्कनेलाई कडा कार्बाही गर्ने चेतावनी दिएको छ। ७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिए।
संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ। ऐनको दफा ३ मा उल्लेख गरिएको छ, ‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा १००।– सम्म जरिबाना वा दुवै सजाय हुनेछ।’
काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले लक डाउन गर्ने निर्णय गरेको हो। निर्णयको पालना गराउने जिम्मा समितिले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ।
त्यस्तै समितिले सवारी साधन चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको छ। तर अत्याआवश्यक सवारी साधन भने चल्न पाउनेछन्। एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधनलाई भने रोकिने छैन।
के छ त अन्तर्राष्ट्रिय प्रचलन ?
नेपालले भन्दा अघि धेरै मुलुकले मुलुकभर, विभिन्न क्षेत्रमा ‘लकडाउन’ घोषणा गरिसकेका छन्। चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना नियन्त्रणका लागि चीनले नै उक्त क्षेत्रमा कडा ‘लकडाउन’ घोषणा गरेको थियो।
कोरोनाको प्रकोप बढेपछि यस्तो गर्नुपरेको थियो । चीन सरकारले त्यसबेला सम्पूर्ण यातायातका साधनहरुमा रोक लगाउनुका साथै मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको थियो।
कोरोनाले सबैभन्दा बढी असर गरेको इटलीमा पनि ‘लकडाउन’ गरिएको छ। इटली सरकारले आफ्ना ६ करोड नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएको छ। निर्देशन उल्लंघन गर्नेलाई तीन महिना जेल सजाय तोकिएको छ।
स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्ररुपमा वृद्धि भएपछि ‘लकडाउन’ घोषणा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मानिसहरुलाई घरबाहिर ननिस्कन र अत्यावश्यकबाहेकका भेटवार्ता बन्द गर्न आग्रह गरेका छन्।
फ्रान्स, साउदी अरेबिया, अष्ट्रेलिया, न्युजील्यान्ड, अमेरिकालगायतका मुलुकहरुमा पनि मानिसहरुलाई घरबाहिर ननिस्कन भनिएको छ।
भारतका विभिन्न राज्यहरुमा ‘लकडाउन’ र जनता कर्फ्यू कायमै राखिएको छ। विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो। अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो।
छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाइसकेको छ। जानकारहरूका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा नीति हो।
‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ। ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ । जस्तो कि काठमाडौं उपत्यकालाई ‘लकडाउन’ गरियो भने उपत्यकामा रहेका व्यक्ति अत्यावश्यक काममा त्यो पनि अनुमति लिएर मात्रै अर्को स्थानमा जान पाउनेछन्। चीनको बुहानमा पनि यस्तै नीति अलबम्बन गरिएको थियो।
गम्भीर महामारीका रूपमा देखिएको कोरोनाको संकटबाट जोगिन उपयुक्त तयारीका साथ गरिएको ‘लकडाउन’ प्रभावकारी हुने जानकारहरू बताउँछन्।
‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो। त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ।
यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन्। शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन्। सार्वजनिक यातायातमा पनि सुरक्षा अपनाइएको छ।