गुल्मी – गुल्मीको प्रमुख नाका रिडी। यो नाका भएर गुल्मीसहित वाग्लुङ्गका नागरिक गाउँ पुग्छन्। व्यस्थित क्वारेन्टाइन छैन। भद्रगोल हेल्थ डेक्स। व्यवस्थापनको योजना रुरु क्षेत्र गाउँपालिकासँग छैन।
लकडाउनको समय शुरु हुनुअघिसम्म निर्बाध गाडी भित्रिएका छन्। यात्रुहरुको अनिवार्य परिक्षण भएको छैन। तामझामका साथ स्थापना गरिएको हेल्थ डेक्स नै असुरक्षित भएको स्थानीय गुनासो गर्छन्। ‘नाका व्यवस्थापनमा समग्र जिल्लाकै छुट्टै चासो र योजना हुनुपथ्र्यो,’–स्थानीय युवा सुन्दर कसजुले भने,–‘हेल्थ डेक्सको काम नै छैन, स्वास्थ्यकर्मीसँगै यात्रु झन असुरक्षित छन्।’
रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जिल्ला समन्वय समिति र स्वास्थ्य कार्यालयले चासो नदिएको आरोप लगाए। अरु तह र निकायको समन्वय छैन। रुरुसंग पर्याप्त बजेट व्यवस्थापन छैन। जसका कारण नाकाको व्यवस्थापन सोचे अनुसार नभएको गिरीले बताए।
त्यतिमात्रै हैन, जिल्लाकै सदरमुकाम तम्घासमा क्वारेन्टाइन छैन। आइसोलेसन हाउस परैको कुरा। स्वदेश तथा परदेशबाट आएकाहरुको लर्को गाउँ पुग्यो। उनीहरुको स्वास्थ्य अवस्थाबारे कसैलाई जानकारी छैन।
रिडीबाट प्रवेश गरेका आधा गुल्मेली तम्घास भएर पश्चिमका गाउँ पुग्छन्। क्वारेन्टाइन र चेकजाँचको राम्रो व्यवस्थापन सदरमुकाममा नभएका कारण गाउँमा संक्रमणको जोखिम बढेको छ। मुख्य नाका रिडी र सदरमुकाममै चेकजाँचको राम्रो व्यवस्था नभएपछि गाउँ झनै बिजोगको स्थितिमा रहेको इस्मा गाउँपालिकाकी उपप्रमुख विमला खत्रीले बताइन्।
गुल्मी अस्पताल तम्घास जिल्लाको ठूलो सरकारी अस्पताल हो। अर्घाखाँचीसहित जिल्लाका अधिकांश स्थानका नागरिकले गुल्मी अस्पतालबाट सेवा लिने गरेका छन्। त्यसैले पनि गाउँमा कोरोना संक्रमण देखिए वा अन्य स्वास्थ्य समस्या आए सदरमुकाम आउनुको विकल्प गाउँमा छैन। त्यसैले सदरमुकाममा कोरोना संक्रमणको व्यवस्थापनमा सबै स्थानीय तहहरुले बेलैमा बजेट र योजना बनाउनुपथ्र्यो। तर अहिलेसम्म अरु कुनै स्थानीय तहले समन्वय र बजेटको व्यवस्था नगरेकाले आफुहरुले सक्ने व्यवस्थापन गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए। अहिलेसम्म नगरपालिकासँगै नेटा र देउरालीमा हेल्थ डेक्स सञ्चालन, गुल्मी अस्पतालमा अस्थायी वार्ड निर्माण र सचेतनाको लागि प्रचारप्रसार गरिएको मरासिनीले बताए।
गत चैत्र ७ गते जिल्ला विपद् व्यवस्थापन समितिले सदरमुकाममा आइसोलेसन हाउस बनाउने निर्णय गरेको थियो। त्यसको बारेमा सोमबार अबेरसम्म कुनै निर्णय समेत भएको छैन। बनाउने काम अझै परको कुरा भए। स्थानीय सरकार कोरोनाकै विषयमा स्पष्ट छैनन्। क्वारेन्टाइन र आइसोलेशन हाउसका बारेमा अनविज्ञता देखाउँछन्।
शहर र सदरमुकाम खाली भए। अधिकांश नागरिक घर फर्किएका छन्। तर स्थानीय सरकार कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्ने विषयको अन्यौलमा छन्। स्वदेशका विभिन्न शहरदेखि भारत र अन्य मुलुकबाट गाउँ आएका नागरिकको अवस्था, संक्रमणको जोखिम न्यूनिकरणसहित त्यसको व्यवस्थापनमा ठोस योजना छैनन्।
‘मान्छेहरु धमाधम गाउँ भित्रिए के गर्ने वा के नगर्ने साह्रै अन्यौल बनेका छौ,–’मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले भने,–‘अहिले पनि दशैमा जस्तो मोज गरिरहेका छन्, भनेको कसैले मान्दैनन्।’
मालिका गाउँपालिकामा पनि क्वारेन्टाइन र आइसोलेसन हाउसको कुनै टुङ्गो छैन। अधिकांश स्थानीय तहले हेल्थ डेक्सलाई नै आफ्नो प्रमुख काम भनेर बसेका छन्। सत्यवती गाउँपालिका व्यस्त सडकमै पर्छ। यहाँ पनि आइसोलेसन हाउस छैन। जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पनि छुट्टै वार्डको व्यवस्था गरिएको छैन। हेल्थ डेक्स सञ्चालन छन्। स्थानीय स्तरमै १० हजार माक्स उत्पादन गर्ने र वडाहरुमा वितरण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए। तर गाउँ फर्केका बासिन्दाका विषयमा ठोस योजना बनेको छैन।
मुसिकोट नगरपालिकाले विद्यालयहरुमा क्वारेन्टाइन बनाउन थालेको छ। प्रत्येक वडाका माध्यमिक विद्यालयहरुमा बेडको व्यवस्था गरेर क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाले जनाएको छ। एउटा माविमा १० वडा वेड निर्माण गरिएको छ। क्वारेन्टाइन शंकास्पद ठाउँबाट आएका व्यक्तिहरुलाई राख्ने स्थान हो। नगरले अलि पहिले नैै क्वारेन्टाइन र चेकजाँचको व्यवस्थापन गरेन। अहिले सबैजना घर पुगे। जसका कारण अहिले घरमै सुरक्षित भएर बस्न आग्रह गरिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए।