बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलव्ध गराएको छ।
‘लकडाउन’ अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरुको सिफारिशमा शुक्रबारदेखि खाद्यान्न उपलब्ध गराउन सुरु गरेको हो।
शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यान्न वितरण सबै वडामा चल्ने नगरप्रमुख वासुदेव घिमिरेले बताए। वडा नं. ४ को सीमानगरमा नगर प्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरी आफै पुगेर खाद्यान्न वितरण गरेका छन् । शुक्रबार वडा नं. ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलव्ध गराइएको र यसले दैनिक ज्याला मजदूरी गरेर खाने विपन्न वर्गलाई थोरै भएपनि राहत पुगेको नगर प्रमुख घिमिरेले बताए।
कोभिड–१९ संक्रमणको जोखिमका कारण देशव्यापी ‘लकडाउन’ भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पु¥याइदिने गरी नगरपालिकाले बिहीबार निर्णय गरेको थियोे।
नगर प्रमुख घिमिरेले भने–‘सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पु¥याइदिने छ।’
तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योगधन्दा, ठेकेदार, घरधनीले उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ । नगर उपप्रमुख जागेश्वरदेवी चौधरीले नगरपालिकाले कोही पनि नगरबासीलाई भोकै बस्नै अवस्था आउन नदिनै बताइन्।
नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए। नगरका १७ वटै वडामा रहेका टोलविकास संस्थाहरुले विपन्नहरुको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिशको आधारमा नगरपालिकाले खाद्यान्न उपलव्ध गराउने व्यवस्था मिलाइएको छ।
प्रकोप व्यवस्थापन कोष मजबुत बनाउँदै तिलोत्तमा, नगर प्रमुखले दिए ५० हजार
तिलोत्तमा नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख वासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिएका छन्।
उपप्रमुख जगेश्वरदेवी चौधरीले कोषमा १० हजार रुपैंयाँ योगदान गरेकी छिन्। नगरपालिकाले यसअघि नैं स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई थप मजबुत बनाउँदै लैजाने निर्णयसँगै उनीहरुले कोषमा व्यक्तिगत योगदान गरेका हुन्।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको सन्दर्भमा नगरपालिकामा कार्यरत सबै कर्मचारी तथा शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जानकारी दिए। प्रकोप व्यवस्थापन र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा नगरपालिकाको झण्डै ८० लाख रुपैंयाँ रहेकोमा कोरोना महामारीको सन्दर्भमा जुटाइने सहयोगले कोषलाई कम्तिमा एक करोड रुपैंयाँ पु¥याउने लक्ष्य राखिएको छ।