बुटवल- दुबईबाट फर्केर श्वासप्रश्वाससम्बन्धी समस्याले बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना भएकै अवस्थामा मृत्यु भएका बाबुराम थापाको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको छ।
टेकु अस्पतालले स्वाब परीक्षण गरिएका थापाको प्रारम्भिक रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो। स्वाबको पुन परीक्षण गरेर अन्तिम रिपोर्ट दिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन्। उनले सोमबार नै आउने भए पनि अझै केही समय लाग्ने बताइन् ।
रुपन्देही सैनामैनाका बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेशनमा आइतबार मृत्यु भएको थियो।
चैत ६ गते नेपाल आएका थापा १३ गतेदेखि आइसोलेशनमा थिए। उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदैगर्दा उनको आइतबार दिउँसो मृत्यु भयो। उनको शव कोरोना विशेष अस्पतालमा राखिएको छ।