बुटवल-दुबईबाट आएका रुपन्देही सैनामैनाका बाबुराम थापाको कोरोना विशेष अस्पतालको आइसोलेशनमा आइतबार मृत्यु भयो।
चैत ६ गते नेपाल आएका थापा १३ गतेदेखि आइसोलेशनमा थिए। उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसीयूमा राख्ने तयारी हुँदैगर्दा उनको आइतबार दिउसो मृत्यु भयो।
उनको शव अस्पतालमा राखिएको छ। रिपोर्ट आएपछि आफन्तको जिम्मा लगाउने भन्दै अस्पतालले शव राखेको छ।
सैनामैना ४ सिसौडाडामा कृष्णप्रसाद ज्ञवालीको घरमा बस्दै आएका थापाकी श्रीमती र छोराछोरी अन्योलमा छन्। उनीहरुलाई सान्त्वना दिने पनि कोही छैन। न आफन्त आएका छन् न छिमेकी। कोरोनाको संक्रमण भएको हुनसक्ने डरले उनलाई भेट्न कोही पनि आएनन्।
श्रीमती रीता २ छोराका साथमा विक्षिप्त अवस्थामा रहेको ज्ञवालीले बताए। उनले आफुहरुले कागतीपानी खान दिएको र हेरचाह गरिरहेको बताए।
उनका अनुसार उनीहरुलाई सान्त्वना दिन कोहीपनि आएका छैनन्। न त स्थानीय जनप्रतिनिधिले नै चासो राखेका छन्। उनीहरुको घर नै क्वारेन्टाइन बनेको छ। घरभित्रका मान्छे बाहिर निस्कन पाउँदैनन् बाहिरका मान्छे भित्र जान पाउँदैनन्। घरमा बस्ने १२ जना क्वारेन्टाइनमा छन्।
एक वर्ष अघिदेखि ज्ञवालीको घरमा कोठा भाडामा बस्दै आएका उनीहरुको स्थायी घर पाल्पा रिब्दिकोट गाउँपालिका ५ मा हो।
घरमा आउँदा थापालाई सामान्य ज्वरो थियो। ज्वरो आएपछि उनले मुर्गियाको एक मेडिकलमा चेकअप गराए। रगत पनि जँचाए। टाइफाइड हो भनेपछि घरमै बसेर टाईफाईडको औषधि खाए। पुन: चेकजाँच गर्न छिमेकी सुझाव दिएपछि उनी स्वास्थ्यचौकी पुगे। स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा बस्न भने। उनी घरमा आएर एक्लै बसे।
टाइफाइडकै औषधि खाइरहेका थिए। औषधि खाइरहेपनि स्वास्थ्यमा सुधार आएन। कोरोना परीक्षण गर्न छिमेकीले अनुरोध गरेपछि उनी इरिक्सा चढेर बुटवलस्थित कोरोना विशेष अस्पताल आए। कोरोना परीक्षण गर्न आएका उनलाई आइसोलेशनमा राखियो। उपचार चलिरहेको थियो। श्रीमती रीतासँग बेलाबेलामा फोनमा कुराकानी हुन्थे। उनले पछिल्लोपटक भनेका थिए-'औषधि खाइरहेको छु तर खानेकुरा पिरो दिइरहेका छन्।' शनिबार बाबुरामले स्वास फेर्न गाह्रो भएको बताएका थिए। त्यसैराती पनि श्रीमान्-श्रीमतीबीच कुराकानी भयो।
आइतबार बिहान बाबुरामले फोनमा एकदमै गाह्रो भइरहेको सुनाए। 'स्वास फेर्न गाह्रो भएर अह, अह गर्दै कहराईरहेको आवाज आएको थियो'-श्रीमतीको भनाई उदृत गर्दै घरधनी ज्ञवालीले भने। त्यसपछि रीता एम्बुलेन्स लिएर अस्पताल गएकी थिइन्। अस्पताल पुग्दा नपुग्दै उनले श्रीमानको मृत्युको खबर सुनिन्।
उनी भक्कानिदै अस्पताल पुगिन्। तर उनले अस्पताल पुगेपनि न लाश देख्न पाइन् न स्पष्ट जानकारी।
उनी अस्पतालको बाहिर भक्कानिएर रोइरहिन्। अस्पतालबाहिर साँझसम्म एक्लै बसेकी रीता घर फर्किइन्। पतिवियोगमा विक्षिप्त भएर घर फर्केकी उनलाई सान्त्वना दिने कोही थिएनन्। उनी अर्धचेत अवस्थामा छिन्। केही बोल्न सक्दिनन्।
उनका पतिको मृत्युको कारण खुल्न सकेको छैन। तरपनि उनको परिवारले कोरोनाकै आशंकाका भरमा ठूलो मानसिक पीडा भोगिरहेको छ।
स्थानीयले अस्पतालले राम्रोसँग उपचार नगरेको र लापरबाही गरेको बताउँछन्। तर लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनाल अस्पतालसँग रहेको श्रोतसाधन प्रयोग गरेर उपचार भइरहेको बताउँछन्।
'हामीसँग जे श्रोतसाधन छ त्यसलाई अधिकतम उपयोग हुने गरी उपचार गरिरहेका छौं-उनले भने-हामीले सक्दो प्रयास गरिरहेका छौं।'
स्वाबको रिपोर्ट आएपछि मात्र शव आफन्तलाई दिइने
आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका बाबुरामको स्वाब रिपोर्ट आएपछि मात्र शव आफन्तको जिम्मा लगाइने अस्पतालले जनाएको छ।
आइसोलेसन अस्पताल बुटवलका फोकल पर्शन डा. सुर्दशन थापाले आइतबार नै शव आफन्तलाई दिन खोजे पनि कोही नआएपछि अब स्वाबको रिपोर्ट आएपछि मात्र शव जिम्मा लगाउने बताए।
अहिले बाबुरामको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। उनको अन्तिम रिपोर्ट आज बेलुकासम्म आउनेछ।