बुटवल-रुपन्देही सैनामैनाका बाबुराम थापाको मृत्युको कारण कोरोना संक्रमण नभएको पुष्टि भएको छ। कोरोनाको आशंकामा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका उनको थ्रोट स्वाब परीक्षणपछि आएको रिपोर्टले उनमा कोरोना संक्रमण नभएको देखिएको कोरोना विशेष आइसोलेसन अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार थापाको मृत्यु के कारणले भयो भन्ने कुरा नखुलेको बताए। 'कोरोनाको संक्रमण छ छैन भनेर परीक्षण भएकाले अरु के थियो भन्ने कुराभन्दा पनि कोरोना छ छैन भनेर मात्रै हेरिन्छ उनले भने-उहाँको ट्राभल हिस्ट्रीका कारण आइसोलेशनमा राखेका थियौं तर कोरोना रहेनछ।'
उनले थापाको छातीमा समस्या रहेको त्यसलाई मदिराले समेत बढी असर गरेको देखिएको बताए। परिवारले मृत्युको कारण खोजेमा परीक्षण हुनसक्ने उनले बताए।
गौतमका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा क्षेत्रीलाई कोरोना संक्रमण देखिएन। ‘दुईपटक परीक्षण गर्दा पनि उहाँको रिपोर्ट नेगेटिभ आएको छ,’ गौतमले भने।
रोजगारीको लागि दुबई गएका थापा चैत्र ६ गते राति रूपन्देहीको सैनामैना नगरपालिका-४ सिसौडांडास्थित भाडाको कोठामा पुगेका थिए।
दुबईबाट आउँदा नै सामान्य ज्वरो आएका थापा घर आइसकेपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै चैत १३ गते बुटवल धागो कारखानास्थित अस्थायी कोरोना विशेष आइसोलेसन अस्पतालमा पुगेका थिए।