बुटवल-नेपालको सीमावर्ती बजार भारतको सुनौलीमा अलपत्र परेका नेपालीको स्वदेश आउने प्रयास असफल भएको छ।
भारतका विभिन्न ठाउँबाट आफ्नो घर जानभन्दै रूपन्देहीको सीमापारि आएका ३ सय नेपालीलाई नेपाल सरकारले प्रवेश नदिएपछि उनीहरू हिजो सोमबारदेखि सीमामै अलपत्र थिए। सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई संघ सरकारबाट आदेश नआएको भन्दै स्थानीय प्रशासनले प्रवेश गर्न दिएन।
मंगलबार नेपाल र भारतका सुरक्षा अधिकारी बीचको छलफलपछि दुवै देशमा अलपत्र परेका नागरिकलाई आ-आफ्नै देश तर्फ व्यवस्थापन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।
नेपालको सीमानजिक आएका नेपालीलाई नौतनवास्थित क्वारेन्टाइनमा राख्ने सहमति भएको उनले बताए।
नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय २५ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाईनमा राख्ने गरी सहमति गरिएको प्रजिअ पन्थले जानकारी दिए। दुवै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीय स्तरबाट दुबै देशका सरकार प्रति आलोचना बढेको थियो।
सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ भने भारतीय मजदुरलाई रुपन्देहीको भैरहवा स्थित प्रतिमान निमा स्मृति प्रतिष्ठानमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए।
उनीहरुको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाईनमा राख्ने प्रवक्ता खत्रीले जानकारी दिए। सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समुह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरेपनि त्यो भने कार्यान्वयन हुन सकेन।