बुटवल- बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव ४ दिन बितिसक्दा पनि आफन्तले बुझ्न मानेका छैनन्।
अस्पतालको आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिनदेखि अस्पतालमै छ। कोरोनाको आशंकामा भर्ना भएका थापाको मृत्युपश्चात् आएको रिपोर्टमा कोरोना भाईरस (कोभिड१९) नेगेटिभ देखिएपछि आफन्तले अस्पतालले उपचारमा लापरबाही गरेको बताउँदै आएका छन्।
मृत्युको यथार्थ रिपोर्ट अस्पतालले दिनुपर्ने र क्षतिपुर्ति समेत सरकारले दिनुपर्ने माग राख्दै परिवारले बाबुरामको शव बुझेका छैनन्। पाल्पा रिब्दिकोट गाउँपालिका-६ मा स्थायी घर भएका थापाको परिवार सैनामैना नगरपालिका वडा नंं ४ सिसौडाँडामा कोठा भाडामा बस्दै आएका छन्। गत ६ चैतमा दुबईबाट नेपाल आएका उनलाई हल्का ज्वरो र कोरोनाको संक्रमणका कारण देखिने लक्षण देखिएको भन्दै अस्पतालले आईसोलेशनमा राखेको थियो।
५ बर्षपछि घर आएका उनले स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परिक्षण गरेर टाईफाईडको अौषधि खादै आएका थिए। आैषधि खादापनि निको नभएपछि चैत १३ गते अटो रिक्सा रिजर्भ गरेर लुम्बिनी प्रादेशिक अस्पतालमा ज्वरो जाँचका लागि गएका थिए ।
तर, त्यहाँ उपचारमा खटिएका स्वास्थ्यकर्मीले आइसोलेसनमा राखेर उपचार गर्ने भन्दै धागो कारखानामा रहेको अस्थायी कोरोना अस्पतालमा पठाएका थिए। त्यसको तीन दिनपछि गत आइतबार दिउँसो उनको मृत्यु भएको थियो । मृतक थापाकी श्रीमती रीता थापाले कोरोना परिक्षण नेगेटिभ भए मृत्युको यथार्थ रिपोर्ट डाक्टरले दिनुपर्ने बताइन्।
उनले श्रीमान् अस्पताल जाँदा सिकिस्त नभएकै अवस्थामा गएको र अस्पतालको लापरबाहीका कारण मृत्यु भएको दाबी गरिन्। ‘मैले श्रीमानलाई सञ्चो होला भनेर अस्पतालमा पठाएकी थिएँ, मार्नलाई पठाएको होइन’-उनले भनिन्- उपचारमा के कसरी लापरबाही भयो, किन त्यस्तो भयो, मलाई यथार्थ कुरा चाहियो, मलाई जिन्दगीभर पिरलो हुन्छ, मैले छोराहरु कसरी पाल्ने?’ उनले सरकारको लापरबाहीका कारण श्रीमानको मृत्यु भएकाले छोराहरु र आफूलाई पनि सरकारले हेर्नुपर्ने माग गरिन्। उनले अस्पतालमा श्रीमानलाई मानवीय व्यवहार पनि नगरेको भन्दै आक्रोश पोखिन्।
‘अस्पतालमा समेत उहाँलाई अमानविय व्यवहार गरेका थिए, केही नभएको मान्छेलाई ३ दिनमै डाक्टरले मारे, यो सबै अस्पतालको लापरबाहीले भएको हो’-उनले भनिन्- मलाई समेत खास कुरा के हो बताउन खोजिएन, मतलब नै गरिएन।'
रीताले आफूलाई श्रीमानको शव बुझ्नका लागि अस्पतालबाट कसैले पनि जानकारी नगराएको बताईन्। अस्पतालले भने जानकारी गराएको बताएको छ। कोरोना विशेष अस्पतालका प्रवक्ता डा विष्णु गौतमले अस्पतालले जानकारी पठाएको बताए।
उनले मृत्युको कारण र सरकारले सहयोग गर्नुपर्ने भन्दै शव नबुझ्ने बारे मिडियाबाट थाहा पाएको बताए। 'यसबारे के गर्ने भन्ने छलफल होला र एउटा निष्कर्षमा पुगिनेछ'-उनले भने। मृतक थापाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको छ। उनको सोमबार मात्रै कोरोना नेगेटिभ भएको रिपोर्ट आएको थियो।